चिनद्वारा कोरोनाविरुद्धको खोप फेब्रुअरीसम्ममा तयार हुने दाबी

२०७७ आश्विन ९ गते, शुक्रबार

काठमाडौं । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाविरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने जनाएको छ ।
कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । सिनोभ्याकले जोखिममा रहेका बच्चा र बूढाबूढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ ।
खोपको स्वीकृत मापदण्डबमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको ‘क्लिनिकल’ परीक्षण सम्पन्न नभएपनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपत्कालीन प्रयोग प्रावधानअन्तर्गत् सम्मिलित गरिसकेको छ । कम्पनीले यो खोप अमेरिकासमेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ । सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले आफूले व्यक्तिगतरुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए । अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुनसकेका छैनन् ।
चीनले यस वर्षको सुरुमा जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो । जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमारक्षकहरु सामेल थिए । सिनोभ्याकमा कार्यरत् ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]