ब्ल्याक होलको अनुसन्धान गर्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

२०७७ आश्विन २१ गते, बुधबार


काठमाडौँ । यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पारेका हुन् । यूकेमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए । गेन्जेल र गेजले आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए । ब्रह्माण्डबारे गरिएका अनुसन्धानहरूका लागि गत वर्ष तीन वैज्ञानिकले संयुक्त रूपमा भौतिक शास्त्रमा उक्त पुरस्कार पाएका थिए । जेम्स पीबल्सलाई ब्रह्माण्डको क्रमविकास तथा मिशल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिक भएको एउटा ग्रह पत्ता लगाएकाले उक्त पुरस्कार दिइएको थियो । अर्बौँ वर्षअघि भएको एउटा अद्भुत घटनामा आठवटा सूर्यको ऊर्जा एकैचोटि निस्किएको थियो । सोही कारण पृथ्वीबाट सबैभन्दा नजिक रहेको ब्ल्याक होल पत्ता लागेको थियो । सोमवार चिकित्सा विज्ञानतर्फ तीन विजेताको नाम घोषणा भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]