मेलम्चीको सुरुङमा पानी पठाउने तयारी

२०७७ कार्तिक ३० गते, आईतवार


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असारमा परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो । त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने काम मंसिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ । सुरुङमा पानी पठाएर दुई महिनासम्म परीक्षण गर्नुपर्ने प्रवक्ता शाक्यले जानकारी दिए । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण सुरु हुने बताइएको छ ।
सुन्दरीजलमा दुई ओटा पानी प्रशोधन केन्द्र रहेका छन् । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयले जनाएको छ । अहिले बागमतीको पानीमार्फत परीक्षण भइसकेको छ । आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्यांकी निर्माण भइसकेको छ । यो प्रशोधन केन्द्र दुवैको क्षमता साढे ८ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माण भएकोे थियो ।

प्रतिक्रियाहरु

[anycomment]