देशभर चिसो बढ्यो : आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह

२०७८ माघ ७ गते, शुक्रबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल मुलुकभर पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइरहेको जनाउदै आगामी तीन दिनसम्म मौसममा खासै सुधार नहुने जनाएको छ । विभागले माैसम बदलीसँगै देशभर चिसाे समेत बढ्दाे क्रममा रहेकाेले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा एवं हिमपात भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । साथै देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया मौसम सफा वा आंशिक बदली रहनेछ ।
भोलि र पर्सि पनि देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाको पूर्वानुमान छ । साथै महाशाखाले देशका थोरै स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुनसक्ने भएकाले चिसो अझै बढ्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]