असिनासहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको जनाएको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने भएको छ। देशका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङ–असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबार भने देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङ–असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुनसमेत महाशाखाले अनुरोध गरेको छ।