चीनले ५ वर्षभित्र चन्द्रमामा घर बनाउने !

२०८० बैशाख ५ गते, मंगलवार


काठमाडौं । चिनियाँ सञ्चार माध्यमका अनुसार आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै प्रयोग गरेर लुनार बेस अर्थात् चन्द्र आधार शिविर बनाउने योजना चीनको लक्ष्य रहेको छ । यस कार्यको लागि चीनको वुहानमा १ सयभन्दा धेरै चिनियाँ वैज्ञानिक, शोधकर्ता तथा अन्तरीक्ष कन्ट्रयाक्टरहरुको सहभागितामा हालै एक सम्मेलनको आयोजना भयो । त्यसमा आगामी अन्तरीक्ष मिसनहरुका बारेमा जानकारी दिइएको थियो । साथै चन्द्रमामा भौतिक पूर्वाधार खडा गर्ने तरिकाहरुका बारेमा पनि चर्चा भयो । चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका विशेषज्ञ डिंग लियुनका अनुसार वैज्ञानिकहरुको एक टोलीले चन्द्रमाको माटोबाट इँटा बनाउनका लागि चाइनिज सुपर मेसन्स नामको एक रोबोटको डिजाइन गरिरहेको चांगजियांग डेलीले जनाएको छ । तथापि यति छोटो समयमा उक्त लक्ष्य प्राप्त गर्न कठीन हुनेछ । चन्द्रमामा पानी नहुनु, गुरुत्वाकर्षण कम हुन, चन्द्रमामा पटक पटक भूकम्प आउनु तथा भयानक कस्मिक विकीरण हुनु प्रमुख चुनौति हुनेछन् । तर लामो समयसम्म चन्द्रमामा अन्वेषण गर्नका लागि चन्द्रमामा वस्ती हुनु आवश्यक रहेको र भविष्यमा यसको अनुभूति हुने डिंग बताउँछन् । डिंगका अनुसार चन्द्रमाको माटोबाट इँटा बनाउन रोबोट सन् २०२८ सम्ममा चीनको चांगी ८ मिसनका क्रममा लञ्च गरिनेछ । पहिलो इँटा चन्द्रमाको इँटाबाट चन्द्रमामै बनाइने उनको भनाइ छ ।
साथै सन् २०२५ सम्ममा चन्द्रमाको सबैभन्दा दुर्गम क्षेत्रबाट माटोको पहिलो नमूना संकलन गरेर ल्याउने योजना पनि चीनले बनाएको छ । स्मरण रहोस् चीनले सन् २०२० मै चन्द्रमाको सबैभन्दा नजिकको क्षेत्रबाट माटोको नमूना संकलन गरेको थियो ।
चीनले सन् २०२६ मा चांगी ७ मिसन लञ्च गर्ने योजना बनाएको छ । उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा अवतरण गर्नेछ र क्रेटरहरुमा पानीको उपस्थितिका बारेमा अनुसन्धान गर्नेछ ।– एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]