केही दिनभित्रै मनसुन भित्रिने

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको जनाएको छ । पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ । यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र विहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको देखिएको छ । यसले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।
उनले भने- “शनिबारदेखि नै कोशी प्रदेशमा तापक्रम घटिरहेको छ, बादल बनिरहेको छ र मनसुनका लागि आवश्यक अनुकूल वातावरण बन्दै गएको अवस्था देखिन्छ ।” आन कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए । देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ ।