मोबाइल वालेटमार्फत ठग्नेक्रम बढ्दो !

२०८२ बैशाख १३ गते, शनिबार


काठमाडौँ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा सामाजिक सञ्जाल, अनलाइन मोबाइल बैंकिङ्ग, अनलाइन सपिङ, इसेवा, फोनपे लगायत अनलाइन भुक्तानी र लट्री शीर्षकमा कूल ४७ वटा वित्तीय अपराधका घटनाविरुद्ध उजुरी परेको छ । उनीहरूको साथबाट प्रहरीले १५ करोड ३ लाख ८४ हजार आठ सय रुपैयाँ बरामद गरेको छ । यस घटनामा सो वर्ष ६४६ जना पक्राउ परेका छन् ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा सामाजिक सञ्जाल, अनलाइन मोबाइल बैंकिङ्ग, अनलाइन सपिङ, इसेवा, फोनपे लगायत अनलाइन भुक्तानी, लट्री शीर्षकमा कूल १०६ वटा वित्तीय अपराधका घटनाविरुद्ध उजुरी परेको छ । उनीहरूको साथबाट प्रहरीले ४ करोड ४ लाख ९३ हजार रुपैयाँ बरामद गरेको छ । त्यस घटनामा ८६ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीमा चालु आव २०८१/८२ को माघसम्ममा सामाजिक सञ्जाल, अनलाइन मोबाइल बैंकिङ्ग, अनलाइन सपिङ, इसेवा, फोनपे लगायत अनलाइन भुक्तानी, लट्री शीर्षक कूल ४३१ वटा १०६ वटा वित्तीय अपराधका घटनाविरुद्ध उजुरी परेको छ । उनीहरूको साथबाट प्रहरीले ११ करोड १४ लाख ४८ हजार ७ सय रुपैयाँ बरामद गरेको छ । यस घटनामा २९४ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले प्रहरीले डिजिटल वालेटमार्फत हुने ठगी नियन्त्रणका लागी सबै जनाले सजिलै रिपोर्ट गर्न सक्ने गरी सबै ठाँउमा प्रणाली बनाउने गरी काम भइरहेको बताए । राष्ट्र बैंक र अन्य बैंकहरुसँग मिलेर खाताहरूको दुरूप्रयोग नहोस् भनेर एउटा नयाँ क्षेत्रको विकास गरी नियम लागु गरिएको उनले बताए ।
पछिल्लो समयमा डिजिटल वालेटतर्फ हुने ठगीको घटना ह्वात्तै बढेको छ । सामाजिक सञ्जालमा यस्ता ठगीका घटनाका बारेमा जानकारी दिने र बैंकहरुमा जथाभाबी खाता खोल्न नदिने जस्ता कार्यले गर्दा डिजिटल वालेटमा हुने ठगीको घटनामा कमी आउने उनले बताएका छन् । कुनै पनि डिजिटल वालेटका घटना घट्ने बित्तिकै प्रहरीमा खबर गरेमा यस्ता खाताहरू बन्द गर्ने र ठगी भएका रकम रोक्का गर्ने गरिएको उनले बताए ।
उनले अरूले देखाएको प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । प्रहरीले बैंक तथा वित्तीय संस्थाहरूसँग मिलेर ठगीका घटना हुन नदिन विभिन्न बाटो अवलम्वन गरेको छ । डिजिटल वालेट ठगी, अनलाइन किनमेल तथा अनलाइन भुक्तानीबाट हुने दुर्घटनामा सबैभन्दा धेरै शिक्षित वर्ग नै पर्ने गरेको उनले बताए ।
अशिक्षितहरू वर्गले यस्ता वालेटहरूको प्रयोग नगर्ने भएकाले प्रहरीमा शिक्षित वर्गको बढी समस्या आउने गरेको उनले बताए। धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ता, स्मार्ट फोन प्रयोगकर्ताहरू मात्र वालेट ठगीको समस्यामा पर्ने गरेको देखिएकाले उनीहरूलाई नै मध्यनजरमा राखेर सचेतनाको कार्यक्रमहरू गर्ने गरेका उनले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]