एलन मस्कद्वारा एआई स्टार्टअप एक्स एआईको नयाँ मोडल ‘ग्रोक ४’ लञ्च

काठमाडौँ । हालै अमेरिकन पार्टी खोलेका एलन मस्कले आफ्नो एआई स्टार्टअप एक्स एआईको नयाँ मोडल ग्रोक ४ लञ्च गरेका छन् । यसलाई ओपन एआई तथा गुगलजस्ता प्रतिद्वन्दीहरुलाई टक्कर दिने दिशामा एउटा महत्वपूर्ण कदम मानिएको छ । यद्यपि मस्कले यस्तो समयमा ग्रोकको नयाँ संस्करण सार्वजनिक गरेका छन् जतिबेला उनको सोसल मिडिया प्लाटफर्म एक्समा उनको एआई सिस्टमद्धारा यहुदी विरोधी तथा हिटलरको प्रसंसा गर्ने खालका जवाफहरुलाई लिएर विवाद उत्पन्न भएको छ ।
गत बिहीबार मस्कले एक लाइभ स्ट्रिमिंगका क्रममा ग्रोक ४ को घोषणा गरेका हुन् । सो एआई मोडेल शैक्षिक विषयमा विद्यावारिधी भन्दापनि उत्कृष्ट रहेको र सबै विषयमा स्नातकोत्तर तहको ज्ञान राख्ने उनको दाबी छ ।
मस्कले भनेका छन् – ग्रोक ४ हरेक विषयमा पोस्ट ग्राजुएट तहमा छ । कुनै अपवाद छैन ।
यद्यपि एक्स एआईको तर्फबाट अहिलेसम्म ग्रोक ४ को क्षमता तथा सीमाहरुलाई लिएर कुनै पनि आधिकारिक प्राविधिक रिपोर्ट जारी गरिएको छैन । जबकि ओपन एआई तथा गुगलले आफ्ना एआई मोडेलहरुका सम्बन्धमा नियमित रुपमा यस्ता रिपोर्ट सार्वजनिक गर्ने गर्दछन् ।
प्रयोगकर्ताले ग्रोक ४ लाई वेबसाइट वा एपको माध्यमबाट प्रतिमहिना ३० अमेरिकी डलर शुल्क तिरेर प्रयोग गर्न सक्नेछन् । जबकि यसको विस्तारिक संस्करण ग्रोक ४ हेभीको मूल्य भने प्रतिमहिना ३०० अमेरिकी डलर राखिएको छ । मस्कका अनुसार यो वर्षको अन्त्यसम्म एक्स एआईले कोडिङ तथा भिडियो निर्माण जस्ता कार्यहरुका लागि विशेष मोडेलहरू पेस गर्नेछ ।
मस्कले लाइभ स्ट्रिमका क्रममा भनेका छन् : सत्यता खोज्नका लागि अनुकूलित गर्नुपर्छ । साथै त्यसमा त्यस्तो मूल्य हुनुपर्छ जो तपाईंले एउटा बच्चामा देख्न चाहनुहुन्छ जो एकदिन निकै शक्तिशाली मानिस बनोस् । एआई इमान्दार तथा नैतिक हुनुपर्छ ।
पछिल्ला केही दिनमा एक्स प्लाटफर्ममा ग्रोकसँग सम्बन्धित एउटा एआई मोडेलले केही प्रयोगकर्तालाई आपत्तिजनक तथा यहुदी विरोधी जवाफ दिए । जसमा एडोल्फ हिटलरको प्रसंसा पनि सामेल थियो । त्यस विषयमा प्रतिक्रिया दिंदै एक्स एआईले घृणास्पद भाषणलाई ग्रोकले पोस्ट गर्नुभन्दा अघि नै प्रतिबन्धित गर्नका लागि कदम उठाउने बतायो ।
यसैबीच एक्स कम्पनीकी सीईओ लिन्डा याकरिनोले गत बुधबार कम्पनी छाड्ने घोषणा गरेकी छिन् । यद्यपि उनले त्यसको कारण चाहिं खुलाएकी छैनिन् । लाइभ स्ट्रिमका क्रममा मस्कले ग्रोकका खुबीहरुका बारेमा व्याख्या गर्दैगर्दा त्यसमा अझैपनि विभिन्न कमजोरीहरु रहेको स्वीकार गरे । उनले भने – यो अझैपनि प्रारम्भिकस्तरको टूल्स हो, त्यस्तो टूल्स होइन जुन गम्भीर खालका व्यवसायिक कम्पनीहरुमा प्रयोग गर्न सकियोस् । ग्रोकले आगामी वर्ष नयाँ प्रविधिहरुको खोज गर्नसक्ने उनको अनुमान छ । तर, अहिलेसम्म यस्तो कुनै आविष्कार वा नयाँ वैज्ञानिक खोज भएको छैन ।
मस्कले आफ्नो एआई मोडेल ग्रोक अहिलेपनि आंशिक रुपले दृष्टिविहीन रहेको बताएका छन् किनकि यो तस्वीर प्रोसेसिंग तथा तस्वीर सिर्जनामा कमजोर छ । यद्यपि त्यसमा सुधारका लागि काम चलिरहेको छ । उनका अनुसार एक्स एआई व्यवहारिक स्मार्टनेसको दिशामा काम गरिरहेको छ ताकि यो केवल किताबी ज्ञानसम्म मात्र सीमित नहोस् । – एजेन्सी