वायु प्रदूषणका कारण हरेक वर्ष लगभग १० लाख मानिसको अकालमा मृत्यु
काठमाडौँ । विश्व बैंकले वायु प्रदूषणका कारण हरेक वर्ष लगभग १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार दक्षिण एसियाको इन्डो–गैंजेटिक प्लेन्स र हिमालयको फेद क्षेत्रमा वायु प्रदूषणले स्वास्थ्य र उत्पादकत्वमा ठूलो संकट पैदा गरिरहेको छ । प्रतिवेदनमा यो क्षेत्रका करिब एक अर्ब मानिसले अस्वस्थ हावामा सास फेरिरहेका र
वायु प्रदूषणका कारण यो क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा वार्षिक १० प्रतिशतबराबरको नोक्सानी भइरहेको अनुमान गरिएको छ ।
‘अ ब्रथ अफ चेन्ज : सोलुसन्स फर क्लिनर एयर’ नामक प्रतिवेदनमा नेपाल, भारत, बंगलादेश, भुटान र पाकिस्तानमा प्रदूषणका पाँच मुख्य स्रोत पहिचान गरिएको छ । त्यसमा घरायसी इन्धन (खाना पकाउन र तताउन), उद्योगमा जीवाश्म इन्धनको अदक्ष प्रयोग, सवारीसाधनको धुवाँ, कृषि अवशेष र फोहोर जलाउने कार्य समावेश छन् ।
प्रतिवेदनमा वायु प्रदूषण कम गर्न केही व्यावहारिक समाधान प्रस्ताव गरिएको छ । यसअन्तर्गत विद्युतीय चुलो, उद्योगको आधुनिकीकरण, विद्युतीय यातायात प्रणाली र सुधारिएको फोहोर व्यवस्थापनमा जोड दिइएको छ । यसका निम्ति स्रोतमा उत्सर्जन घटाउने, स्वास्थ्य र शिक्षा प्रणालीलाई बलियो र क्षेत्रीय समन्वयका लागि मजबुत संस्था निर्माण गर्नुपर्ने विश्व बैंकले औँल्याएको छ ।
विश्व बैंकका वरिष्ठ वातावरणीय अर्थशास्त्री मार्टिन हेगरका अनुसार, यी समाधान कार्यान्वयन गर्न ‘चार आई’को खाका महत्त्वपूर्ण हुन्छ । योजनाका निम्ति सूचना, व्यवहार परिवर्तनका लागि प्रोत्साहन, समन्वयका निम्ति संस्था र स्वच्छ ऊर्जाका लागि पूर्वाधार यसअन्तर्गत पर्छन् ।
स्वच्छ वायु प्राप्त गर्न स्थानीय र क्षेत्रीयस्तरमा निरन्तर सहकार्य र दिगो लगानी आवश्यक रहेको विश्व बैंककी दक्षिण एसिया वातावरणीय अभ्यास प्रबन्धक एन जेनेट ग्लौबरले बताइन् । सरकारहरूले मिलेर काम गरेमा लाखौँको ज्यान बचाउन र सबैका निम्ति स्वच्छ हावा सुनिश्चित गर्न सकिने उनको भनाइ छ ।
