भारतमा च्याटजीपीटीको प्रयोगमाथि प्रतिबन्ध लाग्न सक्छ !

२०८२ माघ ६ गते, सोमबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले ट्रम्प प्रशासनले भारतमा च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने संकेत गरेका छन् । च्याटजीपीटी प्रयोगकर्ताको ठूलो हिस्सा भारतीय प्रयोगकर्ता भएको उनको भनाइ छ । उनले ती एआई सेवाहरूका लागि किन अमेरिकी बिजुली र स्रोत–साधनको प्रयोग भइरहेको छ भनी प्रश्न गरेका छन् । च्याटजीपीटी एक अमेरिकी एआई कम्पनीको उत्पादन हो ।
नभारोले स्टिभ ब्याननको पोडकास्ट ‘रियल अमेरिका भ्वाइस’ मा भने, “अमेरिकीहरूले एआईका लागि भारतलाई किन पैसा तिरिरहेका छन् ? च्याटजीपीटी अमेरिकी माटोमा चल्छ, अमेरिकी बिजुली खपत गर्छ, तर यसले भारत, चीन र विश्वभरका प्रयोगकर्तालाई सेवा दिइरहेको छ ।”
उनले यसलाई व्यापारिक समस्याका रूपमा उल्लेख गर्दै एआई डेटा सेन्टरहरूका कारण अमेरिकी बिजुलीको महसुल बढिरहेको दाबी गरे नभारोले चेतावनी दिँदै भने, “हामी यस मुद्दालाई सुक्ष्म रूपमा हेरिरहेका छौँ । राष्ट्रपति ट्रम्पबाट यस विषयमा कडा कारबाहीको अपेक्षा राख्नुहोस् ।”
ट्रम्प प्रशासनले एआईको तीव्र विकासका कारण अमेरिकी नागरिकको बिजुलीको बिल सीमित गर्न राज्यहरूसँग मिलेर काम गर्ने घोषणा गरेको छ । एक तथ्यांक अनुसार, अक्टोबरमा औसत बिजुली बिल गत वर्षको तुलनामा पाँच प्रतिशतले बढेको छ । प्रशासनले एआई डेटा सेन्टरका लागि नयाँ पावर प्लान्टहरू बनाउने र यसको लागत प्राविधिक कम्पनीहरूले नै व्यहोर्नुपर्ने योजना बनाइरहेको छ । नभारोको यो टिप्पणी यस्तो समयमा आएको छ, जब भारत र अमेरिकाबीचको व्यापारिक सम्बन्ध तनावपूर्ण छ । ट्रम्प प्रशासनले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएको छ । रुसबाट तेल खरिद गरेकोमा थप २५ प्रतिशत ट्यारिफ समावेश छ । नभारोले यसअघि भारतलाई ‘ट्यारिफको महाराजा’ र रुसी तेलका सन्दर्भमा ‘क्रेमलिनको लाउन्ड्रोम्याट’ भन्दै आलोचना गरेका थिए ।- टाइम्स अफ इन्डिया

प्रतिक्रियाहरु

[anycomment]