बुद्धिजीवी र बौद्धिकताको प्रश्न – भगवानचन्द्र ज्ञवाली

२०७५ पुष १६ गते, सोमबार

बुद्धिको सम्बन्ध प्रज्ञा, उन्नत चेतनासँग हुन्छ । प्रकृतिका नियम अनुसार सामान्य बौद्धिकता सबैमा हुन्छ तर सबैलाई बौद्धिक वा बुद्धिजीवी भन्नसकिंदैन । विद्यार्थी, कर्मचारी, किसान, मजदुर, पनि बुद्धिजीवी हुनसक्छ । तर को बुद्धिजीवी र को अबुद्धिजीवी भन्ने विभाजक रेखा कोर्न सजिलो छैन । हाम्रा समाजमा पढेलेखेर उच्च डिग्री हासिल गरेकाहरूलाई मात्र बुद्धिजीवी भन्ने चलन छ ।
प्राचीन ग्रीस, मिश्र र आर्य आदि सभ्यताहरूमा पढ्नु, चिन्तन गर्नु र बौद्धिकताका कुरा वर्ग विशेषको प्राधिकार मानिन्थ्यो । बौद्धिकताको चिनारी व्यक्तिबाट हैन कामबाट प्राप्त हुन्छ । आफ्नो व्यावसायिकताका सामान्य घेराभन्दा माथि उठेर निर्दिष्ट काम अरुभन्दा विशिष्ट ढङ्गले, छिटो छरितो, टिकाउ, सचेत र स्पष्ट बुझिने गरी गर्ने व्यक्ति आफ्ना व्यवसायमा बौद्धिक मानिन्छ । जसले व्यवसायको व्यावहारिक र सैद्धान्तिक पक्षलाई मिश्रण (फ्युजन) गरेर कुशलतापूर्वक परिचालन गर्छ त्यो व्यक्ति बौद्धिक हो । सैद्धान्तिक व्यवसायमा संलग्न हुने वा शिक्षण, प्राध्यापन, लेखन, कला आदिमा सम्लग्न हुँदैमा बुद्धिजीवी हुन्छ भन्ने हुँदैन । बुद्धिजीवीले आपूmसरहका मान्छेभन्दा त्यही विषयलाई पनि भिन्न ढङ्गले सोच्ने, चिन्तन मनन गर्ने र प्रयोग गर्ने गर्छ । उसमा एकप्रकारको प्रज्ञा हुन्छ अर्थात् नित्य नयाँ नयाँ कुराका बारेमा सोच्ने र व्यवहारमा कुशलतापूर्वक उतार्ने जुन क्षमता हुन्छ त्यही बौद्धिकता हो । बौद्धिकताको परिमित सीमा हुँदैन । सामान्य एउटा काममा मात्र विशिष्टता प्रस्तुत गर्नु भनेको सम्बद्ध निर्दिष्ट बौद्धिकता हो भने सबैजसो विधामा विशिष्टता प्रस्तुत गर्नु खुला बौद्धिकता हो । बौद्धिक व्यक्ति दूर दृष्टिकोण राख्दछ । अर्थात् दूरस्थ विषयवस्तुको पूर्वाभास उसमा हुन्छ र चिन्तनद्वारा त्यसलाई निकटस्थ पार्न सफल हुन्छ अर्थात् दूरस्थ विषयवस्तु उसका मनमस्तिष्कमा मूर्तिवत् बिम्ब बनेर उपस्थित हुन्छ ।
ग्रीसमा सोक्रेट्स र अरिस्टोटल पूर्वमा कृष्ण, बुद्ध आदि खुला बौद्धिकताका मानव थिए भने प्लेटो, विवेकानन्द, लेनिन आदि निर्दिष्ट बौद्धिकताका व्यक्ति थिए । आजभोलि बौद्धिकताको परिमापन आइ क्यू बाट गर्ने गरिन्छ तापनि प्रशिक्षणबाट प्राप्त आइ क्यूलाई मात्र बौद्धिकताका परिधिभित्र राख्न सकिंदैन । किसान मजदूर पनि बौद्धिक हुनसक्छ । दार्शनिक, विचारक बौद्धिक हुन्छ । डक्टर, इञ्जिनियर, वकील, शिक्षक वा कर्मचारी पनि अबौद्धिक हुनसक्छ । अतः ज्ञान र बुद्धि पृथक् कुरा हुन् । नास्ति यस्य स्वयं प्रज्ञ शास्त्रं तस्य करोति किं, लोचनाभ्यां विहीनस्य दर्पणः किं करिश्यति भनेर शास्त्रले पनि ज्ञान र प्रज्ञालाई पृथ्क् कुरा देखाएको छ । सामान्यभन्दा विशिष्ट, उन्नत, कुशल क्षमतावान् व्यक्ति बौद्धिक हुन्छ । त्यो व्यवहार, बोली, लेखन र शिक्षण आदि अभ्यासबाट व्यक्त हुन्छ । बौद्धिकता मानव मस्तिष्कको विशिष्टता, विलक्षणता र चामत्कारिक क्षमता हो । चोर अपराधी पनि निर्दिष्ट बौद्धिकता भएको हुनसक्छ । चोरहरूमध्ये कलात्मक र विशिष्ट ढङ्गले चोर्न सफल हुने व्यक्ति सम्बद्ध बौद्धिक व्यक्ति हुनसक्छ । समस्याका नयाँनयाँ समाधानका बाटाहरू पहिल्याउन बौद्धिक क्षमताको आवश्यकता हुन्छ ।
कला र विज्ञानका व्यवहार र सिद्धान्तका बिचबाट बौद्धिक र शारीरिक श्रमको गहन विभाजन हुनसक्छ । तर वर्तमानमा बौद्धिकताको प्रश्न मानव कल्याण, समाज रूपान्तरण र स्तरीकरणसँग जोडिन आउँछ ।
माक्र्सवादी द्वन्द्ववादी दृष्टिकोणले समाज रूपान्तरणमा विशिष्ट क्षमता, चिन्तन र दृष्टिकोण दिनसक्ने दूरस्थ सम्भाव्यताहरूलाई बिम्ब रूपमा पहिले नै देख्नसक्ने र सम्भाव्य हानिका कुरा छुट्ट्याउन सक्ने क्षमतावान् व्यक्ति माक्र्सवादी बुद्धिजीवी हो जसले सामान्य कुरालाई विशिष्ट रूपमा हेर्छ, बुझ््छ, सोच्छ र व्यवहारमा प्रयोग गर्छ अनि वर्गीय समाजमा लुकेको नकारात्मक र सकारात्मक पक्षको सहज पहिचान गरेर लेख्न, बोल्न र व्यक्त गर्नसक्ने आत्मबलशाली व्यक्ति माक्र्सवादी बुद्धिजीवी हो ।
एउटा सामन्त पनि निर्दिष्ट बुद्धिजीवी हुनसक्छ तर उसको बौद्धिकता व्यक्ति स्वार्थबाट अधिप्रेरित हुन्छ र समग्र मानव हितका पक्षमा हुँदैन । उसका नजरमा मानवता व्यर्थको कुरा हुन्छ । बौद्धिक व्यक्तिमा पनि क्रोध, ईष्या आदि अवगुण नहुने हैन तर तिनलाई संयमले व्यक्त गर्छ र निराकरणमा चोटिलो, निर्भीक प्रहार गर्न र आत्मगत त्रुटिलाई सहज केलाउन र त्यसलाई स्वीकार गर्दै निराकरण गर्न सफल हुन्छ त्यही राजनीतिक बुद्धिजीवी हो । व्यक्ति स्वार्थबाट प्रेरित व्यक्ति माक्र्सवादी बुद्धिजीवी हुनसक्दैन ।
जसले यथास्थितिलाई प्रत्येक कदममा अतिक्रमण गर्दै नयाँ मार्गमा, नयाँ दिशामा उत्क्रमण गर्ने क्षमता राख्छ, नयाँ नयाँ सम्भाव्यताका ढोकाहरू खोल्दै जाने र सम्भावनालाई मूर्तीकरण, बिम्बवत् ग्रहण गर्दै जाने व्यक्ति बुद्धिजीवी हो । अस्तु ।

प्रतिक्रियाहरु

[anycomment]