पोलिटिक्स, ओलिटिक्स र फासिवाद – खेम थपलिया
नेपालमा यतिखेर ‘पोलिटिक्स भर्सेज ओलिटिक्स’ को द्वन्द्व छ । ‘पोलिटिक्स’ शब्दको अर्थ त सबैले बुझेको कुरा हो तर ‘ओलिटिक्स’ बारे धेरैलाई नयाँ विषय हुन सक्तछ । ‘ओलिटटिक्स’ बुझ्नुभन्दा पहिला व्यङ्ग्यात्मक उपन्यास ‘होमो सोभिएटिक्स’ को चर्चा गर्नु आवश्यक हुन्छ । ७० को दसकमा अलेक्जेन्डर जिनोम्येभले एउटा व्यङ्ग्यात्मक उपन्यास लेखेका थिए । त्यो उपन्यासको नाम ‘होमो सोभिएटिक्स’ नै थियो । यसमा मानवजातिबाट नयाँ मानवको उदय अर्थात् नयाँ मानव–प्रजातिको कुरा गरिएको छ । त्यो नयाँ मानव–प्रजाति यस्तो प्रजाति हो, जसको आलोचनात्मक चेत शून्य हुन्छ । सोही उपन्यासको अन्तरवस्तुअनुसार नेपालमा पनि ‘होमो ओलिटिक्स’ को परिकल्पना गर्न थालिएको छ । नेपालमा सभा–जुलुस गर्न प्रतिबन्ध जस्तै छ । वाक्–स्वतन्त्रताको कन्तविजोकको अवस्था छ । यतिखेर नेपाली शासक विद्रोही आवाज वा फरक मतलाई दमन गरेर आफ्नो स्तुतिगानमा रमाउने हनुमान–मण्डली निर्माण गरिंदैछ । नेपालको सन्दर्भमा यो ओलिटिक्स हो । यो नेपाली ‘पोलिटिक्स’ माथि ‘ओलिटिक्स’ लादिंदै गरेको स्पष्ट सङ्केत पनि हो ।
भनिन्छ, चम्चा जुन भाँडोसित नजिकिन्छ, अन्तिममा उसले त्यसै भाँडोलाई रित्याइछाड्छ । कुनै बेला एमाले चम्चा थियो, माओवादी केन्द्र विशाल भाँडो । नेपालको आजको राजनीतिक परिवर्तनको अभियानमा एमाले लाजगालले सहभागी मात्र भएको थियो । आजको परिवर्तनमा माओवादी भने मुख्य पहलकर्ता थियो । जनयुद्धका मुख्य नेतृत्वमा आएको भयानक विचलनपछि संसदीय निर्वाचनका दौरानमा यी दुई चम्चा र भाँडा नजिकिए । अन्ततः चतुर एमालेरूपी चम्चाले बडेमान माओवादी केन्द्ररूपी भाँडोलाई पूरै रित्याइदियो सिनित्तै पारेर । अन्य सन्दर्भमा भाँडा शक्तिशाली भए पनि नेपालको यो सन्दर्भमा चम्चा ज्यादै शक्तिशाली देखिएको छ । एमालेले प्रचण्ड, नारायणकाजी, बादलहरूलाई आफ्नो कार्यकर्ता बनाउन सक्नु चानचुने कुरा होइन । यो सफलता ‘ओलिटिक्स’ को भव्य कमाल हो ।
एमालेमा विलय हुनुअघि प्रचण्डले एक कार्यक्रममा भनेका थिए— धेरै लेख्ने–पढ्नेहरू बिग्रन्छन् । प्रचण्डको यो कुराले नेपालको बौद्धिक–प्राज्ञिक जगत् निकै गर्माराएको थियो । जानकारहरूले त्यो कवि तथा समालोचक आहुतितिर लक्षित थियो पनि भने । त्यतिबेला आहुति खै के नमिलेर हो, प्रचण्डविपरीत दिशामा बतासिन सुरु गरिसक्नुभएको थियो । अर्को एक कुराले पनि बजार खुबै गर्मारायो, त्यो के हो भने पूर्व एमाले समर्थक युवा सङ्घका एक केन्द्रीय नेताले एङ्गेल्सलाई माक्र्सकी पत्नी भएको जिकिर गरेछन् । यो कुरा अहिले बजारमा चर्चाको विषय बनेको छ । त्यस्तै, पूर्व माओवादी केन्द्र एमालेमा विलय भएपछि पार्टी समितिहरू मिलाउने काम तीब्र रूपमा चलिरहेको सन्दर्भमा सांस्कृतिक मोर्चाको एकताको मिलाउने गृहकार्य हुँदै गर्दा लेखकहरूका बीचको सङ्गठनको एकता र विधान तयार पार्ने काममा एउटा कार्यदल पनि बैठक बसेको रहेछ । माओवादी केन्द्रका साथीहरूले प्रस्तावनामा उपभोक्तावाद शब्द थपौँ भन्नुभएछ । एमालेका साथीले हुन्न, हामी त ‘कन्जुमर राइटका पक्षपाती हौँ नि’ भनेर अड्डी कसेछन् । पूर्व माकेका साथीहरू त ट्वाका ट्वा ! यहाँ पनि देखियो चम्चाको दादागिरि र ‘ओलिटिक्स’ को जादु !
नेपाली राजनीतिको पछिल्लो चरण विधि प्रकारका सन्दर्भ र प्रसङ्ग आइरहेका छन् । यी र यस्ता सन्दर्भले धेरैको ध्यानाकर्षण हुने पनि गरेको छ । नेपालको राज्यसत्ताले उनीहरूले नै बनाएका कानुनको खिल्ली उठाइरहेको कुरा कसैको सामु छिपेको छैन । ‘कम्युनिस्ट’ र ‘समृद्धि’ को नारामा जनतालाई कङ्गालीकरण बनाउन स्वयम् सरकार नै उद्यत रहनुले नेपालमा वैचारिकी कङ्कगालीकरणका खतरा तीब्र रूपमा बढ्दो छ । दक्षिण एसियाका शासकहरू दिन–प्र्रतिदिन फासिवादी बन्दै गएको छ । नेपालको सरकारको सामाजिक फासिवादीतिर गएको छ नै; भारतीय साम्राज्यवादको क्षेत्रीय फासिवाद मैमत्त र उन्मत्त बन्दै जानुले नेपाली फासिवादीहरूलाई ‘बाँदरलाई लिस्नो’ को काम गरेको छ । नेपालका अरिङ्गालप्रेमी ओलीको नेतृत्वमा रहेको ‘कम्युनिस्ट सरकार’ को कुनै पनि गतिविधिले कम्युनिस्टको छनकसम्म देखिँदैन । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि धरपकड, गिरफ्तारी एवम् सर्वोच्च अदालतको समेत खिल्ली उड्नेगरी गरिएको हर्कत नेपाली राजनीतिमा असामान्य परिघटना हुन् । यसले ओली सरकारको आगामी दिन अझ क्रूर र फासिवादी हुने सङ्केत गर्दछ । यो पनि ‘ओलिटिक्स’ को अर्को पाटो हो ।
अहिले दक्षिणी छिमेकी मुलुक भारतमा विभिन्न घटना घटिरहेका छन् । मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायत पाँचजना बुद्धिजीवी, सामाजिक अभियानकर्मीहरूको गिरफ्तारी र अदालतको आदेशपश्चात् घरमै गरिएको नजरबन्द गरिएको छ । मोदी सरकारले माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानवअधिकारवादी, वकिलसमेत गरी पाँचजना सामाजिक कार्यकर्ताहरूलाई माओवादीसम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गरिरहेको छ । केही समयअघि बङ्गलादेशमा भएको सरकारविरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएबापत् त्यहाँको सरकारद्वारा लेखक साइदुल आलमलाई बन्दी बनाइएको थियो । मोदी सरकार अहिले पनि देशव्यापी छापा मार्ने, धरपकड गर्ने काम गरिरहेको छ । उसले यसअघि नै विभिन्न मुद्दा लगाएर प्राध्यापक साइबाबा तथा संस्कृतिकर्मी हेम मिश्रालगायत चारजना आजीवन कारावासमा राखिसकेकोे छ । भारती सरकारद्वारा नजरबन्द गरिनुभएका अभियानकर्मी–मानवअधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, माक्र्सवादी चिन्तक तथा कवि वरवर राव, वकिल अरुण फरेरा तथा वरिष्ठ पत्रकार गौतम नवलखाप्रति भएको रवैयाको घोर भत्र्सना गर्दै उहाँहरूको स–सम्मान एवम् यथाशीघ्र रिहाइका लागि सशक्त आन्दोलन छेड्न आवश्यक छ । नेपालको आजको परिवर्तनमा भारतीय लेखक–साहित्यकार तथा मानवअधिकारकर्मी एवम् पत्रकारहरूले पु¥याएको योगदान निकै महत्वपूर्ण रहेको थियो । हामीलाई अप्ठ्यारो परेको बेला उहाँहरूले निर्वाह गर्नुभएको भूमिकालाई बिर्सनुहुँदैन । आज उहाँहरूलाई अप्ठ्यारो परेको छ, उहाँहरूलाई हाम्रो ठूलो सहयोगको आवश्यकता छ । यो वर्गीयता–नैतिकताको पनि कुरा हो, तर नेपालमा ‘ओलिटिक्स’ को दबदबाका कारण आवश्यक परिस्थिति बन्न सकिरहेको छैन । यो पनि ‘ओलिटिक्स’ को अर्को कमाल हो ।
छिमेकी देशहरूमा जस्तै नेपालको समकालीन राजनीति, सामाजिक, साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा अनेकन् फासिवादी हर्कत भइरहेका छन् । यस सन्दर्भमा लुसुनको यो प्रसङ्ग प्रस्तुत गर्नु उपयुक्त हुन्छ । एक पटक लुसुनलाई चिकित्सा विज्ञानको अध्ययनका सिलसिलामा उहाँको शिक्षकले युद्धसम्बन्धी एउटा वृत्तचित्र देखाउनुभयो । त्यसबेला जापान र रुसको युद्ध चलिरहेको थियो । त्यस वृत्तचित्रमा रुसीहरूको लागि गुप्तचरी गरेको आरोपमा पाता फर्काएर बाँधेर एक चिनियाँ सैनिकलाई जापानी सैनिकहरूले मरणान्त हुनेगरी कुटिरहेका थिए । अरू चिनियाँहरू त्यो दृश्य हेरेर पेट मिचीमिची हाँसिरहेका थिए । यो दृश्य देखेर लुसुन निकै मर्माहत हुनुभयो । उहाँको मन छियाछिया भयो, थुक्क चिनियाँहरूको बुद्धि ‘यस्तो परचक्री ठाउँमा आफ्ना देशका मान्छे कुटिँदा पनि खित्का छाडेर कसरी हाँस्न सकेका !’ कुटिने चिनियाँलाई देखेर हाँस्ने चिनियाँहरू मोटाघाटा र बलियाबाङ्गा थिए । त्यसैले उहाँलाई लाग्यो— चिनियाँहरूलाई शारीरिक उपचारको होइन, मानसिक उपचारको खाँचो छ । तिनमा चिनियाँ बन्धुत्व र चिनियाँ राष्ट्रवादको भावना छैन । चिनियाँहरूको मानसिक उपचार साहित्यबाट मात्र हुन सक्दछ । यस्तो ठहरका साथ लुसुन चिकित्सा विज्ञानको पढाइ छाडी साहित्य पढ्न टोकियो हानिनुभयो । लुसुनले एक समय चिनियाँहरूको मानसिक उपचारको खाँचो देख्नुभएजस्तै नेपाली नेता–प्रशासकहरूको मानसिक उपचारको आवश्यकता देखिन्छ । नेपालको ‘ओलिटिक्स’ फासिवादका रूपमा जटिल समस्याद्वारा ग्रसित छ । यसको यथाशीघ्र उपचार हुन नसकिए यसको सङ्क्रमणबाट देशलाई भयानक दिशातिर लैलाने निश्चित छ । यो पनि नेपालमा ‘ओलिटिक्स’ ले पैदा गर्दै गरेको नयाँ परिस्थिति हो ।
आजको युगमा पनि निःशस्त्र कलाकर्मी–कलमजीवीहरूलाई घरमा नजरबन्द गरिनु, पुस्तकालय तथा आफन्तहरूका घरमा छापा मारिनु तथा विभिन्न बहानामा जेल–हिरासतमा राखिनु फासिवादको ज्वलन्त नमुना हो । मोदी सरकार क्षेत्रीय फासिवाद लादन उद्यत भएजस्तै नेपालको सरकार पनि उस्तैगरी फासिवाद लाद्न उद्यत छ । देश फरक–फरक भए पनि ‘दलाल पुँजीवाद’ का प्रतिनिािध हुनुको नाताले यी दुबै एकै सिक्काका दुई पाटा हुन् । यही सन्दर्भमा मोदीको नेपाल भ्रमणको सन्दर्भ उप्काउनु पनि आवश्यक हुन्छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका फरक–फरक विशेषता रहँदै आएको छ । मूलतः नेपालमा आएको भूकम्पको बेला मोदीद्वारा लगाइएको नाकाबन्दीले नेपाली जनतालाई निकै ठूलो र गहिरो चोट पु¥यायो । त्यसपछि पनि भएका भ्रमणका क्रममा नेपालका शासकद्वारा मोदीप्रति देखाइएको लम्पसारवादी हर्कत बिर्सिनसक्नुको छ । विशेषगरी प्रदेश २ का मुख्यमन्त्री रावतले मोदीका सामु गरेको ‘राष्ट्रिय’ गुनासोले सिङ्गो देशको शिर निहुरियो । त्यसबेला प्रदेश २ का मुख्यमन्त्रीले नेपालका प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री र नरेन्द्र मोदीलाई नेपालका प्रधानमन्त्री हुन् भनेजस्तै गरेर आफ्नो कुण्ठा पोखेका थिए । यसमा नेपालको सरकारको चर्को लम्पसारवाद प्रस्तुत भयो । त्यसबेला नेपालका साहित्यकार, लेखक, बुद्धिजीवीहरूको मुखमा ठेडी कोचिएसरह नै भयो । त्यसका विरुद्ध एकाध व्यक्ति र संस्थाबाहेक कसैले चूँसम्म पनि बोल्ने आँट गरेनन् । यहाँ पनि ‘ओलिटिक्स’ को लम्पसारवाद अभिव्यक्त भयो ।
यतिबेला सबैका अगाडि अहम् प्रश्नहरू छन् । हाम्रा पनि प्रश्नहरू छन् । हाम्राबारेमा पनि प्रश्नहरू हुन सक्तछन् । हामीले ती प्रश्नहरूको जवाफ दिनु छ र दिन पनि सक्नुपर्दछ । विशेषतः बुर्जुवा चिन्तन वा शिविरबाट उठेका वा उठाइएका प्रश्नहरूको हामीले सशक्त जवाफ दिनु छ । जब पुँजीवादीहरूमा दृश्य वा अदृश्य शक्तिको मात चढ्दछ, त्यतिखेर उठेका प्रश्हरू निकै डरलाग्दा हुन्छन् । माओको नेतृत्वमा सञ्चालित महान् सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसबखत ठूल–ठूला पोस्टरको अभियान तथा र ‘पुँजीवादी मुख्यालयमा बम वर्षा गर’ नाराको ऐतिहासिकता हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ । ‘क्रान्तिको निशाना आफैँलाई बनाऊ’ भन्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मुख्य सिद्धान्तलाई जीवन–व्यवहारमा उतार्नु आजको आवशयकता हो । यो आत्मिक तथा भौतिक रूपान्तरणको मूल आधार पनि हो । एकोहोरो उपदेश थोपर्ने परम्परा सामन्तवादको आफ्नै मौलिक परिचय हो । ‘ओलिटिक्स’ को एउटा उपचार सांस्कृतिक क्रान्ति पनि हो ।
समकालीन नेपाली सामाजिक जीवनमा मूल्य स्खलन यावत् क्षेत्रमा देख्न सकिन्छ । समाज र इतिहासको विकास प्रक्रियामा वर्गसङ्घर्षले केन्द्रीय र निर्णायक कारक तत्वको भूमिका निर्वाह गर्दछ र गर्दै आएको पनि छ । समकालीन नेपाली राजनीतिको समस्याको समाधान वैज्ञानिक समाजवादमा रहेको छ । अहिले दर्शनविहीन साम्राज्यवादको गर्र्भिभत्र वैज्ञानिक समाजवादको भ्रूण मज्जाले देखापरिरहेका छन् । आजको साम्राज्यवाद समाजवादको मुटु हालेर बाँचिरहेको कुरा सत्य हो । हामीले लेनिनकालीन ‘आलोचनामा स्वतन्त्रता र काम–कारबाहीमा एकरूपता’ लाई आत्मसात् गर्दै आएका छौँ । नेपाली राष्ट्रियता गम्भीर सङ्कटबाट गुज्रिरहेको यतिबेला को सत्रु र को मित्र हो भन्ने कुरा ओझेलमा पर्न र पार्न थालिएको छ । कसको भण्डाफोर गर्ने र कसको प्रशंसा गर्ने भन्ने कुरा नै स्पष्ट हुन छोडेको जस्तो भएको छ । मुक्तिकामी आन्दोलनका विषयमा जबर्जस्ती प्रश्नहरू उठाउन लगाइएका छन् । कैयौँ मान्छे सङ्ठनात्मक रूपले मात्र कम्युनिस्ट पार्टीमा सामेल भए पनि विचारधारात्मक रूपले पूर्णतः सामेल नभएका कारण पनि कैयन् समस्या आएका छन् । फासिवादका अगाडि घुँडा टेक्नु भनेको क्रान्ति, पार्टी र जनतालाई गम्भीर धोका दिनु हो, जुन कुरा हामी कल्पना पनि गर्न सक्दैनौँ । ‘ओलिटिक्स’ ले बढोत्तरी गरिरहेको मूल्य–स्खलनको यात्रालाई निस्तेज तुल्याउँदै ‘सत्यम्, शिवम् र सुन्दरम्’ मूल्यलाई स्थापित गर्नु आजको महत्वपूर्ण कार्यभार हो ।
नेपाली समाजमा जबर्जस्त र षड्यन्त्रपूर्ण रूपमा अविश्वासको वातावरण बनाउन खोजिएको छ । जनताले आ–आफ्नो माध्यमबाट समाजको रूपान्तरणमा महत्वपूर्ण योगदान नदिएका होइनन् । साम्राज्यवाद, दलाल पुँजीवाद, उपभोक्तावाद, उत्तर–आधुनिकतावादका कारण यतिबेला निराशा केही मात्रा अवश्य पनि बढेकै छन् । नेपालमा सामन्तवादको नाइकेको अन्त्य भए पनि विविधि क्षेत्रमा त्यसको प्रभाव काफी मात्रामा बाँकी छन् । नेपालमा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद होली वाइन खाएर बेहोस छ । सबै प्रकारका शोषण उत्पीडनका विरुद्ध सङ्घर्ष गर्नु, सङ्घर्ष गर्न उत्प्रेरित गर्नु र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापनातर्फ सातुसामल जोडेर अघि बढ्नु आजको आवश्यकता हो ।
हाम्रा काम–कारवाही लाखौँ श्रमजीवी तथा उत्पीडित जनताको सेवा गर्ने खालका हुनुपर्दछ । हाम्रा भावना र जनसमूहको व्यावहारिक सङ्घर्षका आवश्यकता पूरक हुनुपर्दछ । फासिवादीहरूको मेरुदण्ड नै खुस्किने गरी हामीले हाम्रा काम–कारवाहीलाई तीव्र बनाउन आवश्यक छ । भाँडिएका मानिसहरूबाट भाँडिएको समाजलाई एकताबद्ध गरेर निश्चित दिशा र उद्देश्यमा डोहो¥याउन सम्भव छैन । समाज भाँडिनुहुँदैन र हामीले भाँडिन दिनु पनि हुँदैन । ‘ओलिटिक्स’ नेपाली समाज भाँड्न उद्यत छ । हामीलाई थाहा छ, भाँडिएको मोर्चाले कहिल्यै र कुनै पनि युद्ध जित्दैन । नजितिने युद्धमा कुनै पनि सिपाहीले जाँगर लगाएर लड्दैन ।