माओको नाम र सिद्धान्तलाई भजाएर भ्रष्टाचार गर्नेमाथि खबरदारी र हस्तक्षेप गरौ

आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन ! चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन ! त्यसैले सर्वप्रथमत:, यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु !
द्वितीयत:, उहाँले गर्नु भएका चिनियाँ नयाँ जनवादी क्रान्ती र महान् सर्वहारा सांस्कृतिक क्रान्तीलगायतका महान् क्रान्तिहरुको मूल्य र महत्ता एवं औचित्य र आवश्यकताको मर्मबोध गर्न चाहन्छु !
तृतीयत:, माओले आफ्नो देस, जनता, क्रान्ती र मुक्तिका अतिरिक्त विश्वसर्वहारा वर्गका लागि विश्वपुँजीवादका विरुद्ध विश्वक्रान्ती र विश्वका उत्पीडित राष्ट्रहरुको लागि विश्वसाम्राज्यवादका विरुद्ध विश्वमुक्तिका निम्ति गर्नुभएका दुख-कष्ट, युद्ध-संघर्ष, त्याग-तपस्या र बलिदान-योगदानको मुक्तकण्ठले हार्दिक सराहना गर्न चाहन्छु ।

चतुर्थत:, उहाँका केही रचनाहरु, महावाणीहरु र जीवनदर्शनहरु जो अहिलेको हाम्रो पार्टी र आन्दोलनका सन्दर्भमा सान्दर्भिक र मननीय छन्, तिनलाई याद गर्न चाहन्छु । ती हुन् – हुनान किसान आन्दोलनको रिपोर्ट, चिनियाँ समाजमा वर्गहरुको विश्लेषण, नयाँजनवादबारे, दीर्घकालीन जनयुद्धबारे, अन्तर्विरोधबारे, व्यवहारवादबारे, जनताको सेवा गर, सत्यानास भयो त के भो ? धेरै राम्रो भयो, तीन खराबी र पाँच खराबीबारे, अनुशासनका तीन नियम र ध्यानदिनुपर्ने आठ कुराहरु, तीन गर तीन नगर, बेसरी समात र सादा जीवन उच्च विचार तथा कडा संघर्ष र कठोर परिश्रमको जीवनदर्शन आदि । यसैगरी गृहयुद्ध, जापानी साम्राज्यवाद विरुद्धको युद्ध, त्यसक्रममा च्याङ्काइसेकसँगको संयुक्त मोर्चा, अफीमयुद्ध, लङ्गमार्च र महान् सर्वहारा सांस्कृतिक क्रान्ती र यी सबैको क्रममा भएका रस्साकस्सी, दुखकष्ट र क्षति-उपलब्धिहरुको समेत स्मरण र अनुभूतीकरण गर्न चाहन्छु !
पंचमत:, माओको यो सर्वाधिक महत्वको भनाइ कि “विचारधारा र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यदी यो सही छ भने नभएका सबै कुराहरु प्राप्त हुन्छन् तर जब यो गलत छ भने भएजतिका सबै कुराहरु गुम्छन्” भन्ने महान् बाणीको सत्यता, गहनता र महत्तालाई अवलम्बन र कार्यान्वयन गर्नुपर्ने अनि यसको पुष्टि नेपाली माओवादी आन्दोलनका क्रममा पनि भएकोलाई स्मरण गर्दै गराउँदै यसमा अन्तर्निहित सार, औचित्य र आवश्यकताको सम्बन्धित सबैले बोध गर्न-गराउन सकियोस् भन्न चाहन्छु ।
षष्टमत: नेतृत्व अर्थात् एउटा मात्र शीर्ष व्यक्तित्व सही वा गलत हुनुले पनि कति धेरै मात्रात्मक र गुणात्मक अन्तर पर्दो रहेछ सिङ्गो पार्टी, क्रान्ती, देस, जनता(वर्ग) र विश्वलाई भन्ने कुरा नेपालको माओवादी नेतृत्वका सन्दर्भमा लागू भएको कुरा समेत सम्बन्धित सबैलाई हृदयङ्गम होस् भन्न चाहन्छु ।
सप्तमत:, माओले मार्क्सवादका तीन संघटक अङ्ग- दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादका क्षेत्रमा गर्नु भएका वैचारिक र व्यावहारिक, राजनीतिक र फौजी, आर्थिक र सांस्कृतिक, सांगठनिक र भावनात्मक, विनिर्माणात्मक र सिर्जनात्मक अर्थात् समग्रमा शोषित र उत्पीडित जनता र राष्ट्रहरुको क्रान्ती र मुक्ति एवं प्रगती र उन्नतिका क्षेत्रमा गर्नु भएका योगदानहरुको स्वच्छ, सत्य र निष्पक्ष मूल्याङ्कन होस् र माओवादको रुपमा संश्लेषण होस् अनि तिनलाई विश्वका कम्युनिस्ट क्रान्तिकारीहरुबाट पार्टी र क्रान्तिको सन्दर्भमा मात्र होइन, जीवन र जगतका सन्दर्भमा समेत अवलम्बन र कार्यान्वयन गरियोस् भन्न चाहन्छु ।
अष्टमत:, माओको नाम र सिद्धान्त माओवाद/विचारलाई भजाएर भ्रष्टाचार गरी भूंडी भर्ने, भजन गरेर भोजन गर्ने, विक्री गरेर बार्गेनिङ गर्ने, बहानाबाजी गरेर बदनाम गर्ने काम महा आपराधिक, महा कृतघ्नी, महा जाली, महा दुष्ट र महा निकृष्ट काम हुने हुंदा यसो नगर्न नेपाली माओवादी जनयुद्धको थालनीको निर्णयकर्ता एक नेताका हैसियतले सम्बन्धित सबैलाई हार्दिक अनुरोधसहित सुझाव र दवाव दिंदै आवश्यक परे खबर्दारी र हस्तक्षेप समेत गर्ने प्रतिबद्धता र कटिबद्धता पनि जाहेर गर्न चाहन्छु ।
हार्दिक श्रद्धाञ्जली महान् नेता कमरेड माओ !