राज्य दमनले पूर्वलाई क्रान्तिको केन्द्र बनाउने छ
एउटा क्रान्तिकारी पार्टिको संसदिय पुँजीवादमा पतन भएसँगै भुइमान्छेहरुका आवाज प्रवाह गर्ने पुँजीवाद विरोधी क्रान्तिकारी धारा पुनर्गठित हुनु, संघर्षको मैदानमा हेलिनु र गरिव वर्गको नेतृत्व गर्नु अनिवार्य थियो । यही अनिवार्यतालाई सार्थक तुल्याउँदै २०७१ साल मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी संशोधनवादी प्रतिक्रान्तिकारी समूहले खरानी पारेको क्रान्ति भित्रबाट बिद्रोहको फिलिङ्गोलाई प्रज्वलित गराउँदै अगाडि आयो । नेपालमा श्रमजीविवर्गको झण्डा उठ्यो, बलिदान पुनः भर्भराएर उठ्यो । जनविरोधीहरु पुनः अताल्लिए भने श्रमिक वर्गमाझ उल्लास छाउन पुग्यो ।
दुर्मुख दलालहरुले जे–जे भने पनि यतिबेला नेपालको राजनीति संसदीय प्रणालीको विकल्प नेपाल कम्युनिस्ट पार्टीले उठाएको वैज्ञानिक समाजवाद नै हो भन्ने ठाउँसम्म आइपुगेको छ । दलालहरुले नेतृत्व गरिरहेको संसदीय पुँजीवाद असलमा माफिया र लुटेराहरुको पक्षपोषण गर्ने सत्ता हो रहेछ भन्ने कुरा नेपालको राजनीतिको अन्तिम सत्य साबित भएको छ । अब कुनै झुट वा नयाँ भ्रमले संसदीय प्रणालीको संकट समाधान नहुने बरु त्यसको बदलामा नेपाली समाज वैज्ञानिक समाजवादमा प्रवेश गर्ने कुरा पनि अनिवार्य सत्य बनेको छ । तथ्यहरुले स्पस्ट रुपमा विषयहरुलाई उजागर गरेका छन् ।
के वर्तमान लुटेरा सत्ता जनपक्षीय छ ? यो सत्तासँग कम्युनिस्ट मूल्यलाई छुने साधारण कार्यक्रम अवस्थित छ ? कम्युनिस्टको झण्डा भित्र छिपेको खुँकार लुटेरा पुँजीवादले समाजवादको नारा घन्कायो– के यो माफिया ग्याङबाट नेपाली जनताले समाजवादको न्यूनतम कार्यक्रम पाउन सके ? अहँ, कम्युनिस्ट नामको पार्टी र तिनका नेतृत्वबाट जनताले कम्युनिस्ट मूल्यअनुसारका न्यूनतम कार्यक्रम पनि पाउन सकेनन् । बरु उल्टो बर्बर लुट र अत्याचारको शृंखलाहरु चले । दलाल पुँजीवादी लुटेराहरुको राक्षसी लुटको जञ्जालबाट नेपाली जनता गुज्रन बाध्य बने । अन्ततः संशोधनवाद नाङ्गेझार बन्न पुग्यो, वास्तविक कम्युनिस्ट पार्टी र क्रान्ति जवान बनेर उठ्यो । यसैको ज्वलन्त उदाहरण सत्ताको हड्डीमा लुछामार गरिरहेका संसद्वादी कुकुरहरुको बिघटन, पतन र स्खलन एकातिर छ भने अर्कोतर्फ क्रान्ति काँचुलीबाट बाहिर अवतरित भइसकेको छ ।
नेपाली राजनीतिमा उछालिएका बिभिन्नस्वरुपका अन्तरबिरोधहरुको कयौँ कोणबाट विश्लेषण गर्न सकिन्छ तर संसदीय पुँजीवाद कि वैज्ञानिक समाजवाद ? यथास्थिति कि अग्रगमन ? यतिबेला यी दुई कोणबाट मात्रै नेपाली राजनीतिको मुख्य अन्तरविरोधलाई पटाक्षेप गर्न सकिन्छ । यसरी हेर्दा नेपालको राजनीति शक्तिसन्तुलनको चरणमा प्रवेश गरिसकेको छ । दिमाग बिग्रिएका अभिमानी शासकहरुको पुँजीवादी चश्माले पैसा र सैन्य शक्तिलाई आफ्नो संकटको निवारकतत्व ठानिरहेका छन् । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेका जनप्रिय कार्यक्रमबाट काँपेर दमन गर्दै क्रान्तिकारी आन्दोलनलाई सैन्य बलद्वारा दबाउने दुस्वप्न देखिरहेका छन् । उनीहरुले बुझ्न जरुरी छ अन्तिम र निर्णायक तत्व जनता हुन्, जनताको मनोविज्ञानको केन्द्रीकरण यतिबेला एकीकृत जनक्रान्तिमा भएको छ । त्यसैले यही मुद्दामा लडाइँ आमने–सामने छ वैज्ञानिक समाजवाद कि संसदीय पुँजीवाद ?
नेपाल कम्युनिस्ट पार्टीमाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाए पछि सरकार निरन्तर दमनमा छ । पूर्वक्षेत्रको दमन अझ उल्लेखनीय छ । धरपकड र झुट्टा आरोपहरुको लामै फेहरिस्त त छँदैछ तर भोजपुरमा तीर्थ घिमिरेको हत्याबाट सुरु भएको हत्या शृंखलालाई सरकारले कुमार पौडेल हुँदै निरकुमार राईसम्म पु¥यायो । पूर्वक्षेत्रमा सरकार हत्यामा उत्रिने यो विषयले पूर्वक्षेत्रका संसद्वादीहरु र क्रान्तिकारीहरुबीच विद्यमान अन्तरबिरोधको अवस्थालाई उजागर गरेको छ । पूर्वमा संसद्वादीहरुको केन्द्र रहनु र दलाल, भ्रष्टचारी र माफियाहरुको संरक्षण यहाँ नै बढी हुनुले पूर्वका जनता माथि अत्याधिक अन्याय, अत्यचार रहेको स्पस्ट छ ।
निर्बाध रुपमा जनता लुटिरहेका दलालहरुलाई नेपाल कम्युनिस्ट पार्टी टाउको दुखाई बन्न पुग्यो । फलतः संसद्वादी दलालहरु पूर्वमा क्रान्तिकारीहरुको हत्या गर्न तम्सिए । राज्य संयन्त्रको दुरुपयोग गरेर एउटा राजनीतिक आन्दोलन र क्रान्तिकारी युवाहरुको हत्या गर्दै संसद्वादीहरुले दमनको केन्द्र पूर्वलाई बनाए । सुरक्षा संयन्त्रको दुरुपयोग भए तापनि यसमा ओली र पूर्वका लालगद्दारहरुको अभिमान स्पस्ट रुपमा प्रतिबिम्बित भएको छ ।
यसले दमनको केन्द्र पूर्व हो भन्ने मात्र प्रस्ट पारेको छैन कि प्रतिरोध र क्रान्तिको केन्द्र पनि पूर्वलाई बनाइदिएको छ । बिज्ञान तथ्यहरुको आधारमा मुखरित हुन्छ र तथ्यहरुले यही साबित गरेका छन् कि पूर्वका जनता प्रतिरोधी बिद्रोहको निम्ति तयार छन् । कम्युनिस्ट आन्दोलन भित्रको संशोधनवाद र बाहिर सामन्तवादबिरुद्ध युद्धको मोर्चा खोल्ने पूर्वका जनता फेरि पनि संगठित बन्ने छन्, जेल–नेल हत्या र दमनको सामना गर्दै क्रान्तिलाई निरन्तर अगाडि बढाउने छन्, यसमा कुनै सन्देह छैन । सत्ता र शक्तिको अभिमानमा आन्दोलनको प्रवाहलाई देख्न नसक्ने अन्धा शासकहरु, सुन्न नसक्ने बहिराहरु ठूला–ठूला क्षति गराउन र जनतालाई दुःख दिन उद्यत छन् । तर, अब त्यस्तो हुने छैन जो शासकहरु चाहिरहेका छन् । जति रोक्न खोजे पनि जनताको आँधीलाई दुनियाँको कुनै त्यस्तो तागत र शासकले रोक्न सकेको छैन । यही ऐतिहासिक तथ्य हो । दलालहरुबाहेक क्रान्तिकारी शक्ति, देशभक्त शक्ति, सच्चा लोकतन्त्रवादी शक्तिहरुको संयुक्त मोर्चा र एकीकृत जनक्रान्तिको निर्णायक धक्काले संसदीय पुँजीवादलाई नेपालबाट सदाका लागि उन्मुलन गर्ने छ र बैज्ञानिक समाजवादी सत्ताको स्थापना हुने छ । सबैले आ–आफ्नो मोर्चा सम्हालौं ।