संशोधनवाद होइन, मार्क्सवाद लागू गर

२०७७ माघ १८ गते, आईतवार
नारायण शर्मा



कुनै पनि वस्तु, व्यक्ति वा घटनाको जन्म, विकास र मरण वा विनाशको मुख्य कारण आन्तरिक नै हुन्छ भने बाह्य कारण महत्वपूर्ण त हुनसक्छन् तर मुख्य र निर्णायक हुन सक्तैनन् र होइनन् पनि । यो माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता हो । क्रान्तिको उत्थान र पतन, सफलता र असफलता, विकास र विनास अर्थात् क्रान्ति र प्रतिक्रान्तिका मुख्य कारक पनि क्रान्तिकारी नै हुन्छन् अर्थात् क्रान्तिकारीहरुका आन्तरिक विचार, राजनीति, संगठन, संघर्ष र संस्कृति नै क्रान्ति वा प्रतिक्रान्तिका लागि निर्णायक कारण हुन्छन्, बाह्य कारणहरु त महत्वपूर्ण भए पनि ती सहायक नै हुन्छन् र यस्तो भई आएको छ । उपरोक्त सन्दर्भ थाहा भए पनि जुन नेताको नेतृत्वमा क्रान्तिको निर्णय, सुरुवात, विस्तार र विकास हुन्छ, उही नेताकै नेतृत्वमा प्रतिक्रान्तिको बीजारोपण, संरक्षण र सम्बद्र्धन भई क्रान्तिको सम्पूर्णरुपले विनाश हुन्छ भन्ने थाहा थिएन–भएन । यो थाहा नहुनु र यस्तो होला कि भनी अनुमान र आशंका नगर्नु अनि सावधानी र सचेतता पनि अवलम्बन नगरिनु समेत क्रान्तिकारीकै कमजोरी हो र त्यो यहाँको सन्दर्भमा पनि भयो । तर, त्यस्तो नेतृत्वको विरोध गर्नुको साटो उल्टै उस्लाई अन्धसमर्थन र पूर्ण विश्वासका साथ सहयोग गर्नु, नेतृत्वको पक्षपोषण र केन्द्रीकरणमा प्रतिस्पर्धा नै गरी प्राधिकार बनाउन र देवत्वकरण गर्न अहम् भूमिका निभाउनु त झन् हाम्रो ब्लन्डर नै भएको हो । कसैले यहाँनेर यो कमजोरी भयो भनेर तर्क र तथ्य पेस गरेमा त्यसलाई विभिन्न तर्क–वितर्क र कुतर्क गरेर क्रान्तिकारी नेतृत्वतर्फबाटै त्यस्ता गल्ती–कमजोरी ढाकछोप गर्ने प्रयास समेत हुनु झन् ठूलो कमजोरी हो र यस्तो पनि यहाँ प्रशस्तै हुने गरेको हो ।
पार्टी र नेतृत्वका नीति, विधि र प्रवृत्तिमा भइरहेका यस प्रकारका प्रतिक्रान्तिका प्रक्रियाहरुमा जब विचारगत र आचारगत, राजनीतिक र सांस्कृतिक, संगठनात्मक र कार्यक्रमिक आदि विविध पक्षहरुमा चौतर्फी विचलन, विघटन र विसर्जनका संकेतहरु बारम्बार देखिन थाले तब ती विषयमा सूचना र सन्देशका अतिरिक्त सुझाव र दवाव दिइए पनि तिनको कुनै अर्थ र औचित्य हुने स्तरमा दिन सकिएन । तत्पश्चात् जब त्यस प्रकारका क्रान्तिविरोधी चिन्तन–प्रवृत्तिहरु नेतृत्वपंक्तिदेखि क्रमशः तलतिर देखिंदै, दोहोरिंदै र बढ्दै–बढ्दै जान थाले तब तीप्रति असहमति र विरोध पनि धेरै–थोरै प्रकट गरिए पनि तिनको समेत खासै प्रभाव र दबाब परेन किनकि दबाब र प्रभाव पर्ने र पार्ने हदसम्म हामी क्रान्तिकारी भनिनेले पनि केही गर्न सकिएन । अझ यहाँसम्म कि मुख्य नेतृत्वका वरिपरिदेखि क्रमशः तलसम्मबाट समेत त्यस प्रकारका नीति र कृतिहरुको अवलम्बन र कार्यान्वयन गर्न थालियो । नेतृत्वका क्रान्तिविरोधी हर्कतहरुको पूर्ण रुपले पक्षपोषण र महिमामण्डन गरेर तिनै गलत, विकृत र विसङ्गत शैली र संस्कारको आदर्शीकरण र उदात्तीकरणसहित व्यापक विस्तार गरी कार्यान्वयन पनि गरियो । यस्तो अति नै हुँदै गएपछि मात्र क्रान्तिकारी पंक्तिले सामूहिक र संगठित विरोध गर्न त थालियो तर नेतृत्वलाई सुनाउने र मनाउने हदसम्म त्यो संघर्ष चर्काउन पनि सकिएन । यसो गर्न नसक्नुमा पनि क्रान्तिकारीहरुको उदारवादी प्रकारको कमजोरी नै भएको हो । फेरि कथं विचलित नेतृत्व सुन्न तयार भएको भएपनि त्यो लागू हुन गाह्रो हुने अवस्था नै विकसित भइसकेको थियो किनकि समय धेरै घर्किसकेको थियो र यसबीचमा पार्टीको माथिदेखि तलसम्म र यहाँसम्म कि समर्थक– शुभचिन्तकहरुसम्म त्यो प्रतिक्रान्तिकारी चिन्तन–प्रवृत्ति र संस्कार–संस्कृतिले गहिरो गरी जरा गाडिसकेको थियो । यस्तो हुँदासम्म पनि क्रान्तिकारी नेतृत्वपंक्तिका तर्फबाट प्रभावकारी कदम र कार्यक्रम अवलम्बन र कार्यान्वयन गर्न–गराउन नसक्नु पनि गम्भीर कमजोरी भएको हो ।
कहाँसम्म भयो भने यो अन्तर्संघर्षका दौरानमा आवेग र प्रतिशोधको मात्रा र प्रकृया यति बढ्यो कि जिन्दगीभरि जस्तो दुई विपरीत धाराका अर्थात् क्रान्तिकारी र अवसरवादी वा भनौं स्वाभिमानी र दलाल प्रवृत्ति र धाराका बीचमा संघर्षरत दुईथरि नेतृत्वका रुपमा परिचित र स्थापित नेताहरुबीचमै अपवित्र, अनैतिक, अवान्छित, अस्वाभाविक र असैद्धान्तिक गठबन्धन समेत भयो र मूल नेतृत्वका विरुद्ध एकीकृत रुपमा खुलियो र बोलियो । तर, जाल–झेल, झुठ–फरेब, छल–प्रपन्च र षड्यन्त्र गर्न माहिर बनिसकेको प्रतिक्रान्तिकारी विश्वासघाती मूल नेतृत्व र दलाल बनिसकेको अवसरवादी सहायक नेतृत्वबीच नै पुनः गठबन्धन भयो र क्रान्तिकारीहरु एक्लिने र अल्पमतमा पर्ने गरी उक्त कदम प्रत्युत्पादक नै भयो । उक्त गठबन्धन हुनु राजनैतिक रुपले स्वाभाविक नै भए पनि यसबाट प्रतिक्रान्ति र प्रतिक्रान्तिकारीहरु झन् सबल र सुदृढ भए भने क्रान्ति र क्रान्तिकारीहरु कमजोर र विशृंखलित । यसरी आफैंलाई कमजोर र विशृंखलित पार्ने र दलालहरुलाई पार्टी र सत्तामा हालिमुहाली गर्ने स्थितिमा पुराउने गम्भीर गल्ती गर्नपुग्नु क्रान्तिकारीहरुको स्वयंमा आत्मघाती कार्य नै हुन गएको हो ।
त्यही अवस्थामा अन्तरविरोध चर्कंदै तिक्त, दुश्मनीपूर्ण र प्रतिशोधपूर्ण हुँदै गयो र क्रान्तिकारी पंक्तिमा अन्तर्संघर्षप्रति नै यति धेरै निराशा, अविश्वास, वितृष्णा र पलायन बढ्यो कि उही प्रतिक्रान्तिकारी र अवसरवादी दलाल नेतृत्वको गठबन्धनयुक्त पार्टीमा बस्नु, संघर्ष गर्नु र रुपान्तरण वा विजयको आशा गर्नुमा रत्तिभर पनि विश्वास भएन । फलस्वरुप केन्द्रीय समितिभन्दा तल रहेका थुप्रै क्रान्तिकारीहरुसम्म अन्तर्संघर्ष नचल्दै र उनीहरुलाई स्पष्ट पारेर समेट्ने वातावरण नबन्दै हतारमा विद्रोहको नाममा पार्टीमा विभाजन आयो । त्यो विभाजन हतारमा हठात् र बलात् भएको थियो र आवेग र प्रतिशोधकै फलस्वरूप भएको थियो भन्ने कुरा विभाजनको चार बर्ष बित्दा नबित्दै क्रान्तिकारी पंक्तिमै फेरि अर्को विभाजन आयो । विचित्र विडम्बना त अझ के भयो भने संस्थापन क्रान्तिकारी भनिएको पंक्तिमै अर्को बर्ष वित्दा नबित्दै पुनः अर्को विभाजन भयो र संस्थापनको तलदेखि माथिसम्मकै बहुमत पंक्ति आफैंले घोषणा गरेको प्रतिक्रान्तिकारी र लाल गद्दारहरुसँग मिसिन पुगियो । यी सम्पूर्ण विभाजनहरु र समग्र विचलनका पछाडि मूल क्रान्तिकारी नेतृत्वले क्रान्तिकारीहरुको सही मूल्यांकन गर्न नसक्नु र धूर्त, गुटवादी र षड्यन्त्रकारी अवसरवादीहरुलाई अति विश्वास गर्नु र नेतृत्व नै हस्तान्तरण गर्नु, उत्तराधिकारी निर्माणमा कुनै एक निश्चित क्षेत्रलाई प्राथमिकता, प्रोत्साहन र प्रमोसन गर्नु जस्ता उदारवादी र संकीर्णतावादी कमजोरीहरु भएका छन्, जुन कमजोरीहरु संसार हल्लाउने स्तरमा पुगेको माओवादी पार्टी र दश बर्षे जनयुद्धसहितको क्रान्तिको आज यो स्तरमा विचलन, विभाजन, विघटन र विसर्जन हुनको लागि कम जिम्मेवार छन् भन्यो भने सैद्धान्तिक र दार्शनिक रुपले समेत अर्को गल्ती हुन पुग्छ । हो, यो कुरा बेग्लै हो कि आफैंले भरविश्वास गरिएका काखमा सुताइएका समकालीन सर्वोच्च नेतृत्व र उत्तराधिकारी बनाइएका नेताहरुबाट नै आपूm, क्रान्ति र क्रान्तिकारी नेतृत्वप्रति अन्तरघात र विश्वासघात गरी प्रहार गरिएको कृतघ्नी लात र घातबाट नै नेपाली माओवादी पार्टी र आन्दोलनको आजको यो क्षतविक्षत अवस्था भएको हो । त्यसैले अवसरवादी, व्यक्तिवादी, महत्वाकांक्षी र उपभोक्तावादी र यहाँसम्म कि सुरुसुरुका भाट र भ्रष्ट अनि अन्ततिर भँडुवा दलाल र गद्दारहरुको कम बद्मासी र बेइमानी हो भन्न खोजियो भने पूरै गल्ती हुन्छ । त्यसैगरी ठीक यहीँनेर साम्राज्यवादी, विस्तारवादीलगायतका देशी–विदेशी प्रतिकृयावादी शक्तिकेन्द्रहरु र तिनका जालझेल, चलखेल, षड्यन्त्र, दमन र समनजन्य विविध प्रकारका प्रभाव, दबाब र हस्तक्षेप पनि कम्युनिस्ट पार्टी र आन्दोलनलाई ध्वस्त र त्रस्त पार्नमा त्यत्तिकै महत्वपूर्ण कारणहरु रहेका छन् भन्ने कुरा कहिल्यै बिर्सनु हुन्न ।
राजनीतिमा जब नेतृत्व पंक्तिबाटै विचार, सिद्धान्त र मूल्य–मान्यताको अवलम्बनमा अनदेखा, अवमूल्यन र अवहेलना हुनथाल्छ, विधि, पद्धति र प्रक्रियाको उल्लंघन हुन थाल्छ तब स्वार्थ, सुविधा र अवसरले निर्णायक महत्व र स्थान पाउन थाल्छ र भयो पनि त्यस्तै । भन्नाले संसद्वादी चिन्तन र उपभोक्तावादी संसदीय सुखसुविधाभोगको संस्कृतिजन्य आशा र लालसाप्रति क्रान्तिकारी भनिएकाहरु धेरै नै ग्रसित र आकर्षित भएर यो एकता भएको रहेछ । फलस्वरूप संसदीय अभ्यास अर्थात् चुनावमा भाग लिने र आपूm र आफ्ना आसेपासे र गासेदासे बने–बनाइएकालाई विभिन्न नियुक्तिहरुमा सेट गर्ने र सत्ता र शक्तिलाई उपयोग गरेर व्यक्ति, पार्टी र आफ्नो स्वार्थ समूह अनि आफ्नो क्षेत्रका जनताका केही आर्थिक स्वार्थहरु पूरा गर्ने र त्यही बहानामा कमिसन, सहयोग, चन्दा आदि पाउन राम्रैसँग आदत परेकोले नेतृत्वको एउटा पंक्ति पुनः पुरानै घरमा फर्किएको रहेछ । यो कुरा फर्किएका नेतृत्वपंक्तिका तीन दर्जनजति सदस्यहरुमध्ये क्रान्तिकारी चिन्तन र चरित्र अनि स्वभाव र शैली बरकरार राखेका स्वाभिमानी आधा दर्जनजति सदस्यबाहेक नेकपा बनिसकेपछि सबै सेट भएबाट पनि पुष्टि हुन आयो ।
यो कुराको थप पुष्टि वर्तमानको नेकपाको एकता र विभाजनका बेलामा पनि भएको छ । यस प्रकारको क्रान्तिहीन, सिद्धान्तहीन, नैतिकताहीन र मूल्यमान्यताहीन नितान्त अवसरवादी, व्यक्तिवादी र पद–प्रतिष्ठावादी एकता र विभाजन हुँदा पनि सबैजसोले अन्धसमर्थन र वा अन्धविरोध गर्नु विचित्र विडम्बना भएको छ । आज नेकपाको एकीकरण प्रक्रिया पूरा नभई सक्दै पुनः विभाजनमा जाँदा पनि केही अपवादलाई छोडेर सबैका सबै क्रान्तिकारी भनिएकाहरु समेत यो वा त्यो गुटमा सामेल भएर कस्तो र कत्रो गल्ती गरेका छन् ? स्वयंमा स्पष्ट छ । क्रान्तिकारीहरु नै संसदीय गोलचक्करमा फसेर केहीले औपचारिक रुपले नै जबर्जस्ती मध्यावधि निर्वाचन थोपर्ने भन्ने र केहीले संसद पुनस्र्थापना गर्ने भनेर पुरानो, डेट एक्स्पायर र असफलसिद्ध भैसकेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई संरक्षण र सम्बद्र्धन गर्न मरिहत्ते गर्नु र आपूmहरुलाई अझै पनि एक नं कै क्रान्तिकारी भनी आत्मरति गर्नु केकस्तो हास्यास्पद कमजोरी हो स्वयंमा छर्लङ्ग छ । क्रान्तिकारी भनेर चिनिएका र मानिएका नेताहरु स्वयम् संसद्वादको भासमा डुबेर यस्ता भेंडा र हनुमानदास होलान् र क्रान्तिलाई पूरै तिलान्जली दिँदै उफ्रिएलान् भन्ने कल्पनासम्म पनि गर्न नसक्नु समेत सच्चा क्रान्तिकारी भन्नेहरुको पनि त गम्भीर कमजोरी नै हो । अझ आज माघको दोस्रो हप्तासम्मको आइपुग्दा यी क्रान्तिकारी कम्युनिस्ट भनिनेहरु जमयुद्ध र जनआन्दोलनका उपलब्धिहरु जोगाउने बहानामा आफ्नो खाइपाई आएको संसद्वादी पदप्रतिष्ठा र हैसियत जोगाउन टुप्पिदेखिको बल लगाइरहेका छन् र संसद्वाद, संविधानवाद, विधि–पद्धतिवाद र लोकतन्त्रवाद जस्ता उही गन्हाएको संसद्, संसदीय व्यवस्था र संसदीय मूल्यमान्यताको संरक्षण र सम्बद्र्धनमा ज्यान छाडेर लागेका छन् । मूलतः उनीहरु दुवैले र अंशतः मध्यमार्गी एकतावादीले पनि वैकल्पिक क्रान्तिकारी सोंच, सिद्धान्त, शक्ति, संगठन, संघर्ष, सत्ता, शैली र संस्कृति आदि पूरै बिर्सिएबाट क्रान्ति त तिनका दिलदिमागदेखि नै पूर्णरुपले डिलिट गरेको भन्ने छर्लङ्ग भएको छ तर इमान्दार क्रान्तिकारीले यो संसदीय भ्रम, भ्रष्टता, भास र भाँडभैलोलाई समयमै चिन्न र चिर्न नसक्नु स्वयंमा ठूलै कमजोरी हो जो ज्यादै दुखद् विडम्बना पनि हो ।
यहाँसम्म आइपुग्दा मूलधाराको भनिएको सत्ताधारी कम्युनिस्ट नामको शक्ति, व्यक्ति र प्रवृत्तिका साथै सदन, सकार र सत्ता बाहिर रहेका माओवादी स्कुलकै अन्य क्रान्तिकारी धाराका सैद्धान्तिक र व्यवहारिक दुवैथरि क्रान्तिकारीहरुको मौनता, अन्यौलता र ढुलमुलपना पनि सानो कमजोरी होइन । संसद्वादी अवसरवादीहरुबीचमा टुटफुट र निषेधको हदसम्म अन्तर्विरोध र अन्तरध्वंश चर्किरहेको यो बेलामा वैकल्पिक क्रान्तिकारी बाटो देखाएर छरिएर रहेका र निस्कृय हुँदै गरेका क्रान्तिकारीहरुलाई समेटेर अघि बढ्नुपर्नेमा रहस्यमय ढङ्गले चुप लाग्नु पनि कम कमजोरी होइन । हो, क्रान्तिकारीको शक्ति र संगठनात्मक स्थिति कम छ र उनीहरुलाई घेराबन्दी र नाकाबन्दी पनि छ अनि दमन र धरपकड पनि छ तथापि ती सबै प्रतिकुलतालाई अनुकूलतामा बदल्ने पहल र प्रयत्न पनि नदेखिनु वा जो देखिएको आशाका त्यान्द्रारुपी २३ दलीय कार्यगत एकता र बन्दै गरेको ४ दलीय रणनीतिक संयुक्त मोर्चा पनि हाल कार्यान्वयनमा लैजाने पहल र हिम्मत नगरेर आपूm मात्र होइन अरुलाई पनि केही गर्न नदिने गरी अनिर्णयको बन्दी बन्ने–बनाउनेजस्तो घातक काम हुँदै गरेको छ जो हदैसम्मको दुखद् आश्चर्य हो । यी समग्र कमीकमजोरीका कारण क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिलाई केही महत्वपूर्ण शिक्षा प्राप्त भएका छन् । ती हुन्–
१. क्रान्तिकारी कम्युनिस्टहरुको लागि क्रान्तिकारी विचार–सिद्धान्तको अध्ययन र अवलम्बनको अहं महत्व छ ।
२. पार्टी एकता वा बिभाजनका बेलामा पर्याप्त सैद्धान्तिक–राजनीतिक बहस गरी मूलभूत विषयमा सापेक्षित सहमति भएर सत्ता वा संघर्षमा समेत एक चरणसम्म सहकार्य गरेर व्यावहारिक रुपले पनि स्पष्ट नभै हतार र हचुवामा हठात् र बलात् एकता वा पूmट दुवै प्रत्युत्पादक वा निरर्थक हुन्छन् ।
३. कम्युनिस्ट पार्टी र आन्दोलनमा पार्टी र मुख्य नेताहरुको क्रान्तिकारी विचारअनुसारको क्रान्तिकारी आचार–व्यवहार अनिवार्य छ र यसलाई कसी बनाएर तिनको मूल्यांकन गर्नुपर्छ ।
४. नेतृत्वको विचार र आचारमध्ये कुनै एकमा थोरै पनि विचलन आयो भने प्रतिक्रान्ति त्यहीँबाट सुरु हुने चरम खतरा हुन्छ । तसर्थ समयमै सतर्क भई दोस्रो–तेस्रो तहका नेतृत्व पंक्तिले र यहाँसम्म कि कार्यकर्ता–जनताले पनि आवश्यकताअनुसार नेताहरुलाई साथ–सहयोगका साथै आलोचनात्मक चेतसहित प्रश्न–शंका, सुझाव–दबाब, खबरदारी–हस्तक्षेप र निषेधसम्म पनि गर्नु नितान्त जरुरी हुन्छ, अन्यथा प्रतिक्रान्ति अवश्यम्भावी छ ।
५. क्रान्तिकारी कम्युनिस्ट पार्टीमा पनि पार्टीभित्रै अवसरवादी र दक्षिणपन्थीहरु जन्मन सक्ने र हावी हुन सक्ने अनि तिनले पार्टी र क्रान्तिलाई धराशयी बनाउने खतरा मूलतः पार्टीभित्रैबाट हुने गर्छ । तसर्थ पार्टीभित्रैका क्रान्तिकारी नेतृत्वपंक्तिले कमभन्दा कम कमीकमजोरी गर्ने र जो भएका गल्ती–कमजोरीलाई नदोहो¥याउने गरी शुद्धिकृत र रुपान्तरित भई पार्टीभित्रै निरन्तर लड्ने र क्रान्तिको लागि सदा सचेत, साहसी, सक्रिय, समर्पित र संघर्षशील इमानदार क्रान्तिकारी नेतृत्वलाई मात्र उत्तराधिकारी सोच्नु वा बनाउनु पर्दो रहेछ अन्यथा तिनै उत्तराधिकारीहरु स्वार्थी र अवसरवादी परे भने पार्टी र क्रान्तिको विसर्जन तिनैले गर्दा रहेछन् ।
६. नेतृत्वमा सिर्जनशीलता र गतिशीलताका नाममा हुनसक्ने दक्षिणपन्थी अवसरवादी विचलन र स्खलन तथा सिद्धान्तनिष्ठता र दृढताका नाममा पैदा हुने यान्त्रिकता र जडताका कारण पार्टी र क्रान्तिको बन्ध्याकरण र संकुचनप्रति हमेसा होशियार हुनु अत्यावश्यक छ ।
७. आवेग र प्रतिशोधको राजनीतिले तत्क्षणिक तुष्टि त होला तर दीर्घकालीन उपलब्धि गुम्ने खतराप्रति परम सचेत हुनु पर्दछ ।
८. कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वपंक्ति दीर्घकालीन रणनीतिक महत्वका कामहरुमा भूमिगत रुपले र अन्य नेताहरु तात्कालिक कार्यनीतिक महत्वका कामहरुमा खुला रुपले केन्द्रित हुनु पर्दछ । यसरी भूमिगत र खुला, वैधानिक र अवैधानिक, शान्तिपूर्ण र सशस्त्र संगठन र संघर्षको समायोजन हुनुपर्छ ।
९. दीर्घकालसम्म संसदको उपयोग क्रान्तिकारी होइन भ्रान्तिकारी हो र यसले अन्ततः पार्टी र क्रान्तिलाई संसद्वादी भासमा लगेर डुबाउँछ ।
१०. आवश्यक त्याग–तपस्या, साहस–समर्पण र लगानी–कुर्वानी बिना क्रान्ति असम्भव मात्र होइन भएको क्रान्तिलाई निरन्तरता दिन र प्रतिक्रान्तिलाई रोक्न नसकिने रहेछ ।
११. कम्युनिस्ट आन्दोलनमा आस्था–निष्ठा, मूल्य–मान्यता र नीति–नैतिकताको राजनीतिको अत्यधिक महत्त्व छ ।
१२. एकता र विभाजनको मुख्य आधार भावनालाई भन्दा विचारलाई, नेतालाई भन्दा नीतिलाई, शक्तिलाई भन्दा क्रान्तिलाई र पद–प्रतिष्ठालाई भन्दा लक्ष्य–उद्देश्यलाई बनाउनुपर्दछ । अनि यस क्रममा हतारो र चटारो गर्ने, हठ र बल प्रयोग गर्ने, जालझेल र हुलहाल गर्ने गर्नै हुँदैन ।
१३. साम्राज्यवादी युगमा कम्युनिस्ट पार्टीमा दक्षिण्पन्थी विचलनको बिगबिगी हुनेहुँदा यसप्रति गम्भीर र सावधान हुनु जरुरी हुन्छ भने देश, काल र परिस्थितिको सापेक्षता, मौलिकता र विशेषता अनुरुप क्रान्तिकारी सिर्जनशीलता प्रयोग गरी पार्टी र क्रान्तिलाई अघि बढाउन सिपालु बन्नै पर्दछ ।
१४. सच्चा क्रान्तिकारीहरुले ठोस परिस्थितिको ठोस विश्लेषणसँगै क्रान्तिकारी संश्लेषण गर्नु र सोअनुसार अघि बढ्नु पर्दछ ।
१५. पार्टीभित्री संघर्ष र एकता वा पूmटमा माओका मुख्यतः यी दुई भनाइहरुलाई विशेष रुपले ध्यानदिनुपर्दछ–
एक, विचारधारा र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निधो गर्दछ ।
दुई, माक्र्सवाद लागू गर, संशोधनवाद होइन । खुला र स्पष्ट होऊ, जालझेल र षड्यन्त्र नगर, एकताबद्ध होऊ, नफुट ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु