एमसीसीविरुद्ध एकजुट हुदै संसद भवनमाथि धावा बोलौं
अहिले नेपालमा एमसीसीविरुद्ध विभिन्न आस्था वा विचारका सम्पूर्ण संगठित शक्ति र स्वतन्त्र व्यक्ति-व्यक्तित्वहरु अनिवार्य र निशर्त एकजुट हुने बेला हो ! किनकी यही मंसिर २८ गते बानेश्वर स्थित संसदभवनमा संघीय संसदको बैठक बस्दैछ ! यो बैठक ठिक त्यही दिनमा बस्दैछ जुन दिनमा अमेरिकामा एमसीसीको बैठक बस्दैछ ! एमसीसीको बैठक अघिनै नेपालले एमसीसीसँग गरिएको राष्ट्रघाती सम्झौता नेपाली संसदबाट अनुमोदन नगराए कथित अनुदान फिर्ता लैजाने धम्की दिएर हालै अमेरिकी अधिकारीहरु फिर्ता गएकाछन् । त्यसैले त्यसैदिन हठात् र बलात् यो सम्झौता पास गर्न नेपालका शासक-नेता भनाउँदा साम्राज्यवाद र विस्तारवादका दास-दलालहरुले दुस्प्रयास गर्दैछन् !
एमसीसी सम्झौता के कति घातक छ भन्ने कुरा नेपाली जनतालाई र सयौं राजनीतिक दल, संघसंस्था र संगठनहरुलाई स्पष्ट नै छ ! त्यसैले लामो समयदेखि देसविदेसका कुनाकन्दराबाट समेत यसको यति विरोध भैरहेको छ कि यस्तो धेरै विरोध नेपालको इतिहासमा अन्य कुनै विषयमा भएको छैन ! तथापि विडम्बना यो भएको छ कि यो विरोधको कुनै सुनुवाइ भैरहेको छैन ।
सुनुवाइ नहुनुको पहिलो कारण हो- नेपालका शासक वर्ग जनविरोधी र राष्ट्रविरोधी हुनु अनि दलाली गर्नमा व्यस्त र भ्रष्टाचार गर्नमा मस्त हुनु ! दोस्रो कारण हो- एमसीसी विरुद्धको यो आन्दोलन देशभरका हामी एमसीसीविरोधी शक्ति, संघ-संस्था, संगठन र व्यक्ति-व्यक्तित्वहरु यही एउटा एजेन्डामा एकताबद्ध भएर अर्थात् सबै संयुक्त भएर एमसीसीविरोधी सबैको एउटै मोर्चा बनाएर एउटै दिनमा, एउटै स्थानमा एउटै कार्यक्रममा उभिन नसक्नु !
यस्तो गर्न सकेको भए सायद एमसीसी खारेज वा फिर्ता भैसक्थ्यो ! तर अब भने एकताबद्ध भएर मात्र हुँदैन, यो एकताबद्ध शक्तिले मंसिर २८ गते नै काठमाडौं उपत्यकामा संसदभवन घेराउ गर्ने र आवश्यक परे धावा बोल्ने र अन्य जिल्लाहरुमा सी. डि. ओ. कार्यालय घेराउ गर्ने ! अनि एमसीसी पास गर्न सकिन्न वा गरिन्न भन्ने सरकार र संसदको निर्णय नभइन्जेल घेराबन्दी जारी राख्ने गर्नु पर्दछ । त्यसकारण अब हामी यो अन्तिम र निर्णायक बेलामा हामीले आफ्ना संकीर्ण, सिमित र संकुचित स्वार्थ त्यागेर देश र जनताको स्वाभिमान र स्वाधीनताको अनि अस्मिता र अस्तित्वको रक्षाको यो बृहत्तर हितको लागि एकजुट हुनु परम आवस्यक छ !

अन्यथा इतिहासमा कहिल्यै कसैको गुलाम नभएको यो देश र यहाँका हामी सम्पूर्ण देसबासीहरुलाई अमेरिका र भारतका गुलाम हुनु पर्नेछ । यो देशलाई इन्डो-पश्चिमा र चिनियाँ अर्थात् साम्राज्यवादी र समाजवादी शक्ति राष्ट्रहरुको रणमैदान बन्नु पर्नेछ ! यो देशका सम्पूर्ण साधन, श्रोत र सम्पदा लुटाउनु पर्ने छ ! लाखौं जनताको अमूल्य जिउधनको बलि दिनु पर्नेछ ! र, अन्ततः विश्व मानचित्रबाट नेपाल र नेपालीको नाम, निसान र नक्सा नामेट हुने स्थिति आउने छ १ तसर्थ यही २८ गते देसका आठ वाम राजनीतिक शक्तिहरुद्वारा आयोजना गरिएको, देशका २६ दल-संघसंस्थाहरुद्वारा सहकार्य गरिएको र अन्य कैयौं शक्ति, संस्था र सैयौं व्यक्ति-व्यक्तित्वहरुको अनि लाखौं-करोडौं जनता जनार्दन जनसमुदायहरुको सहानुभूति, समर्थन, साथ र सहयोग रहेको सो निर्णायक हस्तक्षेपको कार्यक्रममा सगर्व, सहर्ष र सशक्त रुपमा सहभागी बनौं ! देश र जनताको मुक्ति र स्वतन्त्रताको निम्ति निर्णायक संघर्षमा उत्रौं !!
त्यसैले यतिबेला देशका सच्चा सपूत-सन्ततिहरुले यो नारा लगाऔं :
एमसीसीविरुद्ध सम्पूर्ण शक्ति र व्यक्तिहरु एकजुट होऔँ !
मंसिर २८ मा बानेश्वरस्थित संसदभवनमाथि धावा बोलौं !!