कमरेड किरणलाई खुलापत्र

२०७८ माघ २४ गते, सोमबार

कमरेड किरण

अभिवादन,

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण ठूलो माक्र्सवादी सौन्दर्यशास्त्री, ठूलो माक्र्सवादी, अत्यन्तै इमानदार र क्रान्तिकारी नेता, स्वच्छ छवि भएका नेपालका एक मात्र क्रान्तिकारी कम्युनिस्ट नेता पनि भनिने गरेका तपार्ईंं पछिल्लो समय माक्र्सवाद, माक्र्सवादी सौन्दर्यशास्त्रलाई मागिखाने भाँडो बनाउँदै आउनुको रहस्य के होला ? कमरेड किरण क्रान्तिका लागि निकै ठूला–ठूला गफ हाँक्ने तपाईंले क्रान्तिकारी ध्रुवीकरणका नाममा केही दिन पहिले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रतिबन्धित अवस्थामा तत्कालीन प्रतिक्रियावादी सत्तासँग आत्मसमर्पण गरेका, पार्टीका विरुद्ध सुराकी गरेर क्रान्तिकारी कार्यकर्ताहरुलाई सिध्याउन लागिपरेकासम्मका हर्कत गरेका, पार्टीको आडमा करोडौं चन्दा असुली गरेर साँस्कृतिक विचलनमा परेर पार्टीले कारवाही गरेर फ्याँकिएका, संसद्वादी भासमा डुबुल्की मारेका प्रचण्डले समेत काम नलाग्ने भनेर मिल्काएकालगायत र हालै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लामो समयदेखि भूमिकाहीन रहेका पुष्कर श्रेष्ठ, केदार खतिवडा, जीपी चौलागाईं, रामबहादुर तिरुवा, तारा थापालगायतका कुँडाकर्कटहरुलाई क्रान्तिकारी धु्रवीकरणको नाङ्गो प्रहसन गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई लज्जित तुल्याएको छ । कमरेड किरण तपार्ईं एकातिर ठूला ठूला क्रान्तिकारी कुरा गर्ने अनि नेपाली जनताद्वारा अपदस्त राजा ज्ञानेन्द्र शाहलाई पुनर्वहाली गर्न”सल्लाह गर्न सकिन्छ, विचार गर्न सकिन्छ” भन्ने अभिव्यक्ति एक टेलिभिजनलाई अन्तर्वार्ता दिएर डा. केशरजंग रायमाझीभन्दा पनि पतुरे र भ्रष्ट भएको पुष्टि हुँदैन र ?

कमरेड किरण, एकातिर वर्तमान संविधान र व्यवस्थाको घोर विरोध गरेको नाटक गर्ने अनि अर्कोतिर २०७३ सालको स्थानीय निर्वाचनमा भाग लिएर एकजना वडा सदस्य मात्र विजय हासिल गर्नु अनि २०७४ सालको संसदीय आमनिर्वाचनमा भाग लिएर देशभर गरेर १२–१३ सय मत ल्याएर नेपाली राजनीतिक क्षीतिजमा हास्यका पात्र बनिसक्नु भएको छ । अब पनि लाज पचाउँदै हिँडेको जनताले सायदै मन पराउलान् ।

कमरेड किरण, तपार्ईंंले जुन लक्ष्य र उद्देश्यका साथ २३ दलीय मोर्चा बनाउनु भएको थियो, त्यो राम्रो कदम थियोे र तपार्ईंंहरुदेखि जनता पनि आशावादी बन्दै गएका थिए । तर, आज २३ दलीय मोर्चा निष्क्रिय बन्न पुगेको छ र तपार्ईंं कै कारणले यो मोर्चा शिथिल बन्न पुगेको हो भन्ने आमगुनासो छ । किन तपार्ईंंले यस मोर्चालाई गति दिन सक्नु भएको छ ? केले रोकेको छ ? तपार्ईंंले जनतालाई प्रष्ट जवाफ दिनु पर्छ कि पर्दैन ?

कमरेड किरण, तपार्ईंंले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीसहित चारवटा कम्युनिस्ट पार्टीहरुकै बीचमा रणनैतिक मोर्चा निर्माण गर्नुभएको थियो र भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गर्नु भै यसलाई पार्टी एकतासम्म लैजाने घोषणा समेत गर्नुभएको थियो । विभिन्न जिल्लाहरुमा ठूला–ठूला कार्यक्रमहरु पनि गर्नुभएको थियो र जनताको व्यापक लहर जागृत हुँदै थियो । तर, तपार्ईंंले नै त्यस रणनैतिक मोर्चा विघटन गरेर भाग्नुभयो । तपार्ईंंले किन रणनैतिक मोर्चा विघटन गरेको घोषणा गर्नु भएको हो ? के तपार्ईंं पनि प्रचण्ड – बावुराम कै बाटोमा हिँडिसक्नु भएको हो कि ? किरण कमरेड तपार्ईंंले यसको जवाफ दिनुपर्छ कि पर्दैन ?

किरण कमरेड, तपार्ईंंले एमसीसी जस्तो विषयमा तपार्ईंंले किन सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र देशभक्तहरुसँग सहकार्य गरेर निर्णायक आन्दोलनको विकास गर्नुपर्नेमा त भूपूराजा ज्ञानेन्द्र शाह र दरबारियाहरुलाई गुहार्दै हिँड्नु भएको देखिन्छ । के तपार्ईंं साँच्चिकै वैचारिक रुपमा स्खलित भइसक्नु भएको हो ? या तपार्ईंंलाई क्रान्तिकारी तथा देशभक्तहरुसँग सहकार्य गर्न हीनताबोध भइरहेको छ कि ?

कमरेड किरण, तपार्ईंंका यी पछिल्ला गतिविधिहरुले क्रान्तिको तेजोबध भइरहेको र प्रतिक्रान्तिकारीहरुलाई फाइदा पुग्ने काम भएको छ, तपार्ईंं यस गलत कार्यबाट तत्काल सुध्रनुहोस् र सुधारिनुहोस् भन्ने मेरो कामना छ ।

त्यसैले कमरेड किरण माक्र्सवादलाई नेपाली जनतालाई ठगी गर्ने र मागिखाने भाँडो बनाउँदै नहिँड्नुहोस् । समग्रमा भन्नु पर्दा माक्र्सवादलाई जनतालाई दिनदहाडै ठगी गर्ने र मागिखाने भाँडो बनाएर नेपाली जनताको बीचमा ठूलो भ्रमको झुठको खेती गर्ने कार्य तत्काल बन्द गर्नु होस् । अन्यथा तपाईंको बचे खुचेको राजनीतिक छबि पनि खरानी हुने निश्चित छ ।

तपाईंको राजनीतिक शिष्य

सुबोध खड्का

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

नेकपाको अगाडिका चुनौति र अवसर

२०८२ बैशाख ९ गते, मंगलवार