चिसो मौषमसंग न्यानो मायाले जुम्लामा स्याउ रोप्दै गरेका विप्लव
जुम्लाको कठिन यात्रा अनि चिसो मौषमसंग संघर्ष गर्दै नेकपा महासचिव विप्लव सी फागुन ९ गते साँझ जुम्लाको धाँचुगाउँ पुगे । चारैतिरको हिमश्रीखलाको चिसो सिरेटोले विप्लवका हात,मुख र ओठहरु फुटिसकेका थिए । लुकलुक काँपिरहेका विप्लव जुम्ली जनताको न्यानो माया र स्वागतले निकै उत्साहित थिए । आत्मनिर्भर नेता, कार्यकर्ता,पार्टी र जनता बनाउने उनको मनमा ठुलो धोको भएका कारण सबै कठिनाईहरुको सामना गर्दै उनी जुम्ला पुगेका थिए । धाँचुगाउँको धौलापानीमा करिब १४ हजार वर्गमिटरको जग्गामा स्याउ रोपनको तयारी थियो ।
विप्लव फागुन १० गते कालिकोट,जुम्ला,मुगु र हुम्ला जिल्लाका अगुवा कार्यकर्ताहरुको ५ दिनदेखि जारी स्कुलिङ्ग कार्यक्रमको समापनमा व्यस्त भए । फागुन ११ गते धौलापानी र फागुन १२ गते कालिकोटको फोईमा स्याउ रोपनको तयारी थियो । चारैतिर क्रान्तिकारी राता हसियाँ हतौडा अंकित कम्युनिष्ट झण्डाहरु फरफराईरहेका थिए । टोप्ला, पुग,हाडुल्य जस्ता उच्च हिमश्रीखलाहरु स्याउ रोपनको तयारीमा मुस्कुराईरहेका थिए । श्रमजीवी जनताको नेता कठिन चिसोसंग माटोमा खेलिरहने कुराले पुग, टोप्ला र हाँडल्यका उच्च हिमश्रीखलाहरुले नमुस्कुराउने कुरै थिएन ।
जब फागुन ११ गतेको मिरमिरे उज्यालो भयो,तब महासचिव विप्लव हातमा साबेल र घैंटी बोकेर धौलापानी पुगे । स्याउका विरुवाहरु सदरमुकामवाट पुग्न केही समय लाग्ने भएकाले बेरोजगार बस्न नचाहने विप्लव स्याउ लगाउने खाल्डाहरु खन्न पुगे । उनको साथमा नेकपाका स्थायी समिति सदस्य संन्तोष सी, भरत सी, सुशिल सी, पिविएमहरु असल सी भेषराज सी, केन्द्रीय सदस्यहरु पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु र स्थानीय जनता सहभागी भए । विप्लव कतिवेला साबेलले त, कतिवेला घैटीले खाल्डा खन्न थाले । उनले खाल्डाको माटो पनि बेल्चाले फालिरहेका हुन्थे । केही समय पछि विप्लवका हातमा ठेला परिसेका थिए । पसिनाले निथुरुक भिजेका विप्लव स्याउका खाल्डा खन्न व्यस्त थिए । श्रमभन्दा कोही पनि वाहिर हुनुहुदैन भन्दै विप्लवले श्रम गर्ने प्रेरणा दिइरहेका थिए । उनको मुहारमा कुनै आलस्य होईन, थकान होईन,जोस जाँगर र उत्साह देखिन्थ्यो । स्याउको विरुवा पुग्दासम्म करिब १५० वटा खाल्डा विप्लव सहितको टिमले खनिसकेको थियो ।
करिब १२ बजेतिर स्याउका विरुवाहरु स्याउ रोपन स्थलमा पुगे । त्यसपछि स्याउ रोपनको उद्घाटनको तयारी हुन थाल्यो । उद्घाटन कार्यक्रमको सुरु भयो । उद्घाटन कार्यक्रममा पार्टीका विभिन्न तहका नेता,कार्यकर्ता,जनता,पत्रकार र सुरक्षाकर्मीहरुको सहभागिता देखिन्थ्यो । कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लवले आत्मनिर्भर अर्थतन्त्रका लागि जुम्ला पुगेर स्याउ रोप्न थालेको बताए । उनले जुम्लामा उत्पादन भएको स्याउ सबै पार्टीले नलिने र जनताको लागि पनि केही हिस्सा दिने बताए । उनले जनतातिर नेपालको सत्ता नर्फकिएको टिप्पणी गर्दै भने, ‘नेपालको सत्ता जनतातिर फर्किएको छैन, जसले गर्दा नेपालका युवाहरु वेरोजगार छन, विदेशीएका छन, तिनीहरुलाई नेपालमै रोजगारी दिन उत्पादन अनिवार्य छ । आफ्नै देशमा श्रम गर्न र अरुलाई पे्ररणा दिन आवश्यक छ ।’ उनले त्यसका लागि नेपालमा नेपाली विशेषताको समाजवाद चाहिने र जनताले फेरी पनि एकपटक संघर्ष गर्नु पर्ने बताए । लगत्तै महासचिव विप्लवले स्याउको विरुवा हातमा लिएर स्याउ रोपनको शुभआरम्भ गरे ।

उनले जय देश र जय स्याउ भन्दै स्याउको विरुवा खाल्डोमा हाल्दै स्याउ रोपन गरे । सहभागी सबैले हातमा स्याउका विरुवाहरु टाउकोमाथि उठाउदै भव्य स्वागत गरे । राता झण्डाहरु खुसीले फरफराई रहे । हिमालहरु हाँसी रहे । सहभागी सबैले स्याउ रोपनमा साथ दिए । के पत्रकार, के सुरक्षाकर्मी, के जनता, के नेता, के कार्यकर्ता सबै समान रुपमा स्याउ रोप्ने श्रममा व्यस्त भए । यो सामान्य थिएन । नेपाली इतिहासमा नयाँ कदम थियो । वरपर राता झण्डाहरु फरफराईरहेका थिए । राता झण्डाहरुले नेपाली जनताको मुक्तिका लागि नेकपा र यसको नेतृत्व विप्लव वाहेक अर्को विकल्प नभएको बताईरहेका थिए ।
विप्लवको श्रमलाई जुम्ली जनता मात्र होईन बनपाखाका न्याउली, चरा चुरुङ्गीहरुले समेत तारिफ गरिरहेका थिए । उनीहरुले भनिरहेका थिए ‘यो कस्तो खालको नेता होला ? नेपालका नेताहरु कुर्सीका लागि लडिरहेका बेला विप्लव भने माटोसंग लडिरहेको छ, श्रमसंग लडिरहेको छ, चिसोसंग लडिरहेको छ ।’ वास्तममा यस्तै सोच भएका नेताहरु नेपालमा सबै भएको भए नेपाल समृद्ध हुन कुनै समय लाग्ने थिएन होला यहि चर्चा परिचर्चा हुदै थियो । साँझ अवेरसम्म महासचिव विप्लव स्याउ रोपनमा व्यक्त थिए । सायद ! त्यो दिन विप्लवको जन्मोउत्सवको दिन पनि थियो । आफू जन्मिएको दिनमा पसिना वगाउने र श्रमसंग रमाउने नेता विरलै होलान जुम्ली जनताले भनिरहेका थिए । नेकपा कर्णाली प्रदेशले विप्लवको जन्मदिनको अवसरमा वेलुका सानो भएपनि शुभकामना दिने कार्यक्रम राख्यो ।
विप्लवका निधारभरी राता टिका र घाँटीभरी फुलका माला थिए । सहभागी सबैले टिका लगाउदै पुष्पगुच्छा दिदै जन्मदिनको शुभकामना दिदै थिए । भावुक देखिएका विप्ल्वले आफू अन्तीमसम्म देश र जनताको पक्षमा कामगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्याउ रोपनसंगै जन्मदिन मनाउने कार्यक्रम जोडेकोमा स्थानीय पार्टी र जुम्ली जनतालाई धन्यवाद दिए । रातभर जुम्ली जनता र स्थानीय कार्यकर्तासंग महासचिव विप्लव देउडामा छमछमी रमाए । पाईतिमा पाईति मिलाउदै कर्णालीको देउडा खेले ।

हुनत, विप्लव पहिलो पटक जुम्लामा स्याउ रोप्न पुगेका भने थिएनन् । अघिल्लो बर्षको फागुनमा समेत हाडुल्य लेकमा पुगेर करिव १ हजार स्याउका विरुवा रोपेका थिए । जसलाई निरन्तरता दिन र विस्तार गर्न विप्लवले यो बर्षपनि थप १ हजार स्याउका विरुवा रोपका हुन । यसले जुम्ली जनतालाई उत्साहित नहुने विषय नै थिएन । विप्लव जुम्लाको स्याउ रोपन सकेर फागुन १२ गते कालिकोटको फोईमा स्याउ रोप्ने तयारी थियो । विहानको उज्यालोसंगै खाना खाएर कालिकोटको फोईमा पुगे । स्थानीय सरकारका प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनताले भव्य स्वागत गरे । उनीहरुले उत्पादनको योजना ल्याएर विप्लव गाउँमा पुगेको भन्दै भव्य स्वागत गरेका हुन । हुनत एक बर्ष अघिपनि विप्लव स्याउ रोप्न फोई पुगेका थिए । अघिल्लो वर्ष करिव ५ सय स्याउका विरुवा रोपेका विप्लव फेरी पनि यो बर्ष थप ५ सय स्याउका विरुवा रोप्न फोई पुगेका थिए । स्वागत कार्यक्रम सकिएपछि महासचिव विप्लव स्याउ रोप्न व्यक्त भए । माटोमा रमाउदै कालिकोटे जनतासंग स्याउ रोप्न थाले । राता झण्डाहरुले आत्मनिर्भरताको गित गाईरहेका थिए, समाजवादको गित गाईरहेका थिए, स्याउ रोपनको क्रान्तिमा लागेका विप्लवको यो कदमले हरेक नेपाली जनजन मनमनमा केही आसा र खुसीको सन्देश दियो । यसलाई सबैले अनुकरण गर्नसके नेपाल आत्मनिर्भर हुदै समृद्धितिर पुग्न कुनै समय लाग्ने छैन ।