सबै युद्ध जित्ने एकमात्र सूत्र देशभक्ति

२०८१ चैत्र २५ गते, सोमबार

डा. केशव देवकोटा

एकजना कम्युनिष्ट अन्तराष्ट्रियवादी हुनुका साथै देशभक्त पनि हुन्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । तर नेपालका कतिपय कम्युनिष्ट समूहमा अन्तराष्ट्रियवादी बढीहुँदा देशभक्तिमा कमी आएको देखिएको छ । नेपाल जनसंख्या र क्षेत्रफलका हिसाबले विश्वको सानो मुलुक भएपनि पछिल्लो समयमा अन्य विभिन्न कारणहरुले गर्दा यसको महत्व बढ्दै गएको देखिएको छ । विश्वका शक्ति राष्ट्रहरुको आँखा नेपालमा केन्द्रित हुनथालेको धेरै भएको छ । तर त्यसलाई सन्तुलन गर्ने प्रयासहरु भैरहेका छैनन् । कतिपयले त नेपाल दोश्रो अफगानिस्तान वा सिक्किम बन्ने टिप्पणी गर्न पनि पछिपरेका छैनन् । जहाँ विभिन्न बहाना बनाउँदै अमेरिकाले हस्तक्षेप गरिरहेको छ । खासगरी नेपालको छिमेकी भारतले बिगत लामो समयदेखि नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको र हालैका दिनमा उसले अमेरिकासँग गठबन्धन गरेका कारणले पनि देशभक्त नेपालीहरुमा नेपालको सुदुर भविश्यका बारेमा चिन्ता र चासो बढेको देखिएको छ । जसकाबारेमा यहाँका देशभक्तहरुले बृहत् छलफल चलाउनुपर्ने भएको छ । नेपालमा विद्यमान विभिन्न संभावना र खतराकाबारेमा विभिन्न कोणबाट बिचार विमर्शहरु हुनुपर्दछ । जसका लागि निम्न कुराहरुमा ध्यानदिन सकेको खण्डमा नेपालको अस्तित्व सन्तुलनमा रहन सक्ने देखिएको छ ।

नेपालका राजनीतिक दलहरु ः नेपालमा सबैभन्दा बढी विदेशीको घुसपैठ यहाँका खासगरी संसदवादी राजनीतिक दलहरुमा रहेको देखिन्छ । जसलाई विदेशीहरुले निरन्तररुपमा उचाल्ने र पछार्ने कामहरु गरिरहेका छन् । प्रायः दलहरुले बाहिर जे भनिरहेका छन् भित्र भित्र सोअनुसारको काम गरिरहेका छैनन् । यसले उनीहरुका पछाडि विदेशी शक्ति नाचिरहेको स्पष्टरुपमा अनुभव गर्न सकिन्छ । जस्तो यतिबेला सत्तारुढ दलहरुभित्र जे जसरी खिचातानी भैरहेको छ, त्यसका पछाडि स्पष्टरुपमा विदेशी र मुख्यरुपले भारत र अमेरिकाको हात रहेको देखिएको छ । विदेशी शक्तिले कतिपय महत्वपूर्ण नेताहरुलाई नै आ–आफ्नो अनुचर बनाएका कारण उनीहरुले चाहेर पनि केही गर्न नसकिरहेको अवस्था छ । पछिल्ला दिनमा कुन पार्टीका कुन नेता कहाँबाट सञ्चालित छन् भन्ने कुराको आभाष नेपालका सर्बसाधारणमा समेत हुनथालेको छ । कतिपय नेताहरुले खुलेरै विदेशीका एजेण्डाहरुलाई उठाउने गरेको देखिएको छ । यतिबेला नेपालका दलहरुमा जे जसरी आन्तरिक कहल बढेर गएको देखिएको छ, त्यो सबै कुनै नाटकमा पात्रहरुले निर्वाह गरेको भूमिकाजस्तो मात्र हो । देशको विकास भनेर कतिपय अवस्थामा बिनाशका कामहरु भैरहेका छन् । नेकां र एमालेले लोकतन्त्रको रक्षा भनेर लोकतन्त्रकै खिल्ली उडाउने र त्यसलाई कमजोर बनाउने काम गरेको देखिन्छ । त्यसैले नेपालको खास देशभक्त शक्तिले विदेशीको इशारामा नाच्दैआएका नेपालका बिभिन्न राजनीतिक पार्टी र तिन्का नेताहरुलाई जनताका सामु नङ्ग्याउने र उनीहरुले चालेको चालका बिरुद्ध कसरी जान सकिन्छ र देशको अस्थित्वलाई कसरी जोगाउन सकिन्छ भन्नेमा आ–आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने भएको छ ।

देशको आर्थिक अवस्था ः नेपालको आर्थिक अवस्था कमजोर रहेकोभन्दै विदेशी ऋण सहयोग लिन जुन होड मच्चाइएकोछ, त्यो आफैमा मिथ्या कुरा हो । झण्डै २७ खर्ब ऋण हुन लाग्दा पनि यहाँका नेताहरुमा ऋण लिने होडमा कमी आउन सकेको छैन । संसारका कुनैपनि देशको आर्थिक अवस्था प्राकृतिक श्रोतमा अडेको हुन्छ । त्यसको विकास र परिचालन गर्न सकेको खण्डमा देश सम्पन्न बन्न सक्दछ । सदियौैंदेखि नेपालको प्राकृतिक श्रोतको दोहन गरेर विश्वका कतिपय मुलुकहरुले आफ्नो गुजारा चलाउँदै आएका छन् । त्यसैले उनीहरु नेपालमा कुनै पनि उद्योगहरुको स्थायित्व कायम नहोसभन्ने चाहान्छन् । नेपालको प्राकृतिक श्रोतकै कारण छिमकी भारतमात्र नभएर सात समुन्द्र पारीको अमेरिकालेसमेत यहाँ आफ्नो उपस्थिति कायम गराउन अनेक प्रपञ्च गर्दै आएको स्पष्ट छ । भारतले नेपालको प्राकृतिक श्रोतको परिचालनमा आफ्नो एकाधिकार कायम गराउन अनेक प्रयास गर्नुको कारण पनि नेपाल प्राकृतिकरुपमा सम्पन्न भएको ज्वलन्त उदाहारण हो । कृषिप्रधान भनिएको देशमा समेत रासायनिक मलको कारखाना खोल्न सरकारमा रहेकाहरुको ध्यानाकृष्ठ नहुनुले पनि धेरै कुराहरुको संकेत गरेको छ । विश्वको सर्बोच्च शिखरको काखमा रहेको नेपालमा कुनैपनि कुराहरुको कमी छैन । हामीले चाहेको खण्डमा विश्वका एक से एक शक्ति राष्ट्रहरुको तागतलाई नेपालका सामु झुकाएर राख्नसक्ने छौं । तर, विदेशीले कतिपय नेपाली नेताहरुलाई आफ्ना चाकर बनाएर परिचालन गरेका कारणलेमात्र नेपालले जनचाहना अनुसारको विकास गर्न नसकेको हो । यहाँ सुन, हिरा मणिमाणिक्य र युरेनियम लगायतका अनेक अति महत्वपूर्ण पदार्थहरुको ठूलो भण्डारनै रहेको स्पष्ट छ । जसलाई आफ्नो कब्जामा पार्नका लागि भारत र अमेरिकालगायतका बिश्वका कतिपय मुलुकहरु अनेक होड मच्चाइरहेका छन् । त्यसैले यस कुरालाई राम्ररी बुझेर नेपालका देशभक्तहरुले समयमा नै आवश्यक कदम चाल्न सक्नुपर्ने भएको छ ।

सांस्कृतिक अवस्था ः नेपालको संस्कृति र परम्परा भनेकै पूर्वीय दर्शनमा आधारित हो । जसले सत्य, शान्ति र मैत्रीलाई जोडदिंदै आएको छ । त्यसैले गर्दा यसअघि नेपालले अघिसारेको शान्ति क्षेत्रको प्रस्तावलाई बिवादमा पार्ने काम गरिएको थियो । जसको यतिबेला नामनै नलिने अवस्थाको सिर्जना गरिएको छ । त्यतिबेला विश्वका विभिन्न मुलुकहरुले नेपालको शान्तिक्षेत्रसम्बन्धी प्रस्तावको समर्थन गरेपनि भारतले विरोध गर्नुको कारणले नेपाल सांस्कृतिकरुपमा सम्पन्न मुलुक रहेको प्रमाणित गरेको थियो । खासगरी पश्चिमाहरुले विभिन्न एनजीओ र आइएनजीओहरुमार्फत नेपाललाई पश्चिमा छाडा संस्कृतिमा डुवाउने प्रयास गर्नुको कारण पनि यहाँको सम्पन्न संस्कृतिलाई समाप्त गर्ने षड्यन्त्र होभन्ने धेरै घटनाक्रमहरुले स्पष्ट गरेका छन् । यहाँको स्थापित जीवनशैलीबाट नेपाललाई च्युत गराउन विभिन्न आपराधिक कार्यहरु हुँदैपनि आएका छन् । नेपालको खास संकृतिकाबारेमा देशभक्त नेपालीहरुले चिन्तन मनन् गर्नुपर्ने भएको छ । सबैले के बुझ्नु पर्दछभने नेपाल सांस्कृतिकरुपमा अत्यन्त धनी रहेको छ । जसलाई जोगाउने होभने संसारले नेपाललाई मान्ने छ, सिक्ने छ र नेपाल पनि अझै अगाडि बढ्न सक्नेछ ।

अन्त्यमा ः समग्रमा भन्ने हो भने नेपाल आफै सम्पन्न र सक्षम रहेको छ । यो सानो लेखमा यसका विविध पक्षहरुकाबारेमा केलाउन सकिन्न । नेपाल सामरिक हिसाबले केन्द्रमा रहेको एक सम्पन्न मुलुक भएकाले नै विश्वको ध्यान यहाँ केन्द्रित भएको हो । यहाँ कुनै कुराको अभाव छभने त्यो नेपालीहरुमा आफ्नो खास अवस्थाको पहिचान गर्ने ज्ञानकै अभाव देखिएको छ । देशको सीमाना भारत र चीनजस्ता विशाल राष्ट्रसँग जोडिएसम्म नेपालको अखण्डतालाई कोही कसैले पनि चुनौती दिन सक्दैन । कुनै घुसपैठद्वारा विश्वका कुनै राष्ट्रले यहाँ आफ्नो उपस्थिति जनाएपनि प्रत्यक्ष हस्तक्षेप गरेर नेपाललाई उपनिवेश बनाउने तागत संसारका कुनैपनि मुलुकहरुसँग छैन । त्यसैले नेपालले कुनै कुराहरुमा पनि परामुखपेक्षी हुनुपर्ने कारण छैन । नेपाल आफ्नै खुट्टामा टेकेर विश्वका सामु शिर ठाडो गरेर अगाडि बढ्नसक्ने अवस्था छ । जसका लागि नेपालका खासगरी देशभक्त शक्तिहरुले निन्द्राबाट ब्यँझनुपर्ने र आफ्ने देशको अवस्थाको पहिचान गरेर कदम चाल्न सक्नुपर्ने देखिएको छ । त्यसो भएको खण्डमा विदेशी हस्तक्षेपका कारण सिर्जना भएका तमाम समस्या र संकटहरु समाप्त भएर जाने छन् र नेपाल विश्वको सबैको ध्यान तान्नसक्ने एक महत्वपूर्ण मुलुक भएर सधैँ चीरकालसम्म रहिरहने छ । नेपालका कतिपय पार्टीहरुले आपूmलाई अन्तर्राष्ट्रियवादी बनाएपनि उनीहरुको सम्बन्ध नेपालमा आवश्यकताभन्दा बढी चासो राख्दै आएका भारत र अमेरिकालगायतका पश्चिमा राष्ट्रका शोषित–पीडितहरुसँग नभएर त्यहाँका शासकहरुसँग रहेको छ । त्यसैले उनीहरुको अन्तराष्ट्रियवादिता पनि कम्युनिष्ट नैतिकता बाहिरको कुरा हो । खासमा नेपालमा जुन जुन मुलुकले हस्तक्षेप गरिरहेका छन्, ति ति मुलुकका शोषित–पीडितहरुसँग एकता कायम गर्नुपर्ने हो । तर पछिल्लो समयमा नेपालका धेरै कम्युनिष्ट समूहहरुको भारतीय कम्युनिष्टहरु सँगको भाइचारा सम्बन्धमा समेत कमी आएको देखिएको छ । छिमेकी चीनका कम्युनिष्टहरुसँग पनि नेपालका कम्युनिष्टहरुको सम्बन्ध खासै राम्रो देखिन सकेको छैन । चिनियाँ कम्युनिष्टहरुले देशभक्तिको अभ्यास राम्रोसँग गरिरहेका कारण सो मुलुक दिनप्रतिदिन आफै शक्तिशाली बन्दैगएको हो । नेपालका कतिपय कम्युनिष्ट पार्टीले त भारतको सत्तारुढ दल तथा चरम दक्षिणपन्थी पार्टी भाजपासँग सहकार्य गर्ने लिखित सहमति गरेको देखिएको छ । जसले गर्दा उनीहरुबाट देशभक्ति नभएर विदेशभक्ति भैरहेको छ । हाल देशमा जसरी राजनीतिक अस्थिरता बढिरहेको छ, त्यसको पछाडि विदेशी शक्तिहरुको हात रहेको छ । त्यसले नेपालका सही कम्युनिष्ट पार्टीहरुले देशभक्तिपूर्ण अभियानलाई सबैले अनुभव गर्नेगरी अगाडि बढाउनु आजको आवश्यकता भएको छ । हाल नेपालमा देशभक्तिपूर्ण कार्यहरु के–के हुन सक्छन्भन्ने बारेमा बृहत छलफलको आवश्यकता देखिएको छ । हाल विश्वमै देशभक्तिपूर्ण आन्दोलनहरु र विभिन्न प्रयासहरु भैरहेका छन् । तर नेपालमा भने विवाद र विभाजनको अवस्था बढ्दै गएको देखिएको छ । देशमा हाल जे जति र जस्ता आन्दोलनहरु भैरहेका छन् ति सबै आन्दानेलन जित्ने एकमात्र कडी देशभक्ति हुनुपर्दछ । कम्युनिष्ट पार्टीहरुले स्थापनाकालको घोषणापत्र र ०४६ अघिका आफ्ना घोषणापत्रहरुको फेरी एक पटक मिहिन ढंगले अध्ययन गर्नु आजको प्रमुख आवश्यकता भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु