निर्वाचन भाँड्ने सशस्त्र समूहको चेतावनी

२०७० असार १९ गते, बुधबार

जनकपुर, १९ असार– तराईकेन्द्रित एक दर्जन सशस्त्र समूहले आगामी ४ मंसिरका लागि घोषित संविधानसभा निर्वाचन एकजुट भएर प्रतिकार गर्ने निर्णय लिएका छन् । ती समूहको एकता बैठकले संविधानसभा निर्वाचनलाई असफल बनाउन जस्तोसुकै कदम उठाउने चेतावनी पनि दिएको छ । अज्ञातस्थलमा सम्पन्न सशस्त्र समूहको एकता बैठकले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिको अध्यक्षतामा एकत्रित मोर्चा गठन गरेको हो । गठित मोर्चाको नाम जनतान्त्रिक तराई मुक्ति मोर्चा नै राखिएको छ । बैठकमा १३ ओटा सशस्त्र समूहको सहभागिता रहे पनि जयकृष्ण गोइत नेतृत्वको मोर्चासँग भने एकता हुन नसकेको बताइएको छ । बैठकले आठबँुदे कार्यदिशासमेत पारित गरेको छ । जसमा तराईकेन्द्रित अन्य सशस्त्र समूहलाई पनि एकता प्रक्रियामा आउन आग्रह गर्ने, घोषित संविधानसभा निर्वाचन एकजुट भएर प्रतिकार एवं विफल बनाउने प्रमुख छन् । यसैगरी, सरकारमा रही सत्तासुख भोगेका मधेसवादी दल तथा उनका नेताहरु विजयकुमार गच्छदार, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा एवं राजकिशोर यादवलाई मधेसको गद्धार घोषणा गरिएको छ । बैठकले यी दलहरुको मधेसमा आयोजन हुने कार्यक्रमलाई बहिष्कार गर्ने कार्यनीति पनि लिएको छ । यस्तै, नेपाली भाषीहरुको नेतृत्वमा रहेका पार्टीका मधेसस्थित कार्यालयहरु एक साताभित्र खाली गर्ने उर्दी पनि जारी गरिएको छ । तराईमा रहेका नेपाली भाषी प्रहरी प्रशासनलाई १५ दिनभित्र मधेस खाली गर्न तथा मधेसमा रहेका प्रहरी चौकी, थाना, बेस क्याम्पहरुको २ सय मिटर वरिपरिमा रहेका घर बस्ती र टोल १० दिनभित्र खाली गर्न अपिल पनि गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]