गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा वार्षिक कार्यक्रम शुरु
काठमाडौं, २४ कार्तिक । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको ९९औं जन्मजयन्ती मनाइँदैछ । विक्रम सम्वत् १९७२ साल कार्तिक २४ गते जन्मिएका सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका स्मरणीय व्यक्तित्व हुन् ।२०५४ साल आश्विन २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय थिए । लौहपुरुषका नामले चिनिने सिंहले नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै कठोर संघर्ष गरेका थिए । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै थिए ।
राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कू’, सबै सुख–दुःखमा वीपी र गणेशमान सँगै रहे । जेल तोडेर भारत प्रवासमा रहँदा होस् वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कंदा या २०३७ सालको जनमतसंग्रहमा सहभागी हुँदा मुद्दामाथि विमति रहँदा पनि वीपीसँग उनको साथ कहिल्यै टुटेन ।
यातनासहित पटक–पटक निर्वासन र जेलजीवन बिताउँदा समेत सिंहले नेपाली जनतालाई सर्वभौम बनाउने लोकतान्त्रिक आन्दोलनबाट कहिल्यै विश्राम लिएनन् । विपरित धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई प्रजातान्त्रिक आन्दोलनमा एक साथ उभ्याउन उनले २०४६ सालमा खेलेको भूमिका अविस्मरणीय छ । २०४६ सालमा प्रजातन्त्रिक आन्दोलनको सफलतासँगै प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न मात्र रुचाए ।
०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए । त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र, स्थीर र स्थायी नहुने उनको धारणा थियो । तर, सिंहका ती कालजयी विचार र सुझावलाई विपक्षीले त मानेनन् मानेनन् आफ्नै दल नेपाली कांग्रेसले पनि सम्मान गरेन ।जसका कारण विरक्तिएर जीवनको उत्तरार्धतिर उनले आफैंले स्थापना गरी हुर्काएको पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
आगामी एक वर्षभर सिंहको जन्मशताब्दी पनि मनाइने भएको छ ।