तिनकुनेमा शान्ति मण्डला : मुआब्जा विवाद अलपत्र

२०७३ मंसिर ७ गते, मंगलवार

काठमाडौ, ७ मंसिर । मुआब्जा समस्याले तिनकुनेको खाली जग्गामा शान्ति मण्डला बनाउने योजना अलपत्र परेको छ । काठमाडौं महानगरपालिकाले मण्डला निर्माण गर्न सम्भाव्यता अध्ययन गरिसकेको छ । महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले मुआब्जा समस्याकै कारण मण्डला निर्माणको काम अघि नबढेको बताए । ‘तिनकुनेमा अत्याधुनिक ल्यान्डमार्क बनाउने योजना बन्यो । यसको सम्भाव्यता अध्ययन पनि भयो,’ कार्कीले भने, ‘त्यसपछिको काम अघि बढ्न सकेको छैन । यसको मुख्य कारण मुआब्जा समस्या नै हो । यो समस्या समाधन भए काम अघि बढ्छ ।’ महानगरका अनुसार जग्गा अधिग्रहणपछि ८० प्रतिशतले मुआब्जा रकम लिइसकेका छन् । २० प्रतिशत अर्थात् आठ जग्गाधनीले मुआब्जा लिएका छैनन् । महानगरले भने मुआब्जा रकम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाइसकेको छ । ‘तिनकुनेको मुआब्जा रकम लिन आठजना मात्रै बाँकी छन् । उनीहरूको रकम सिडिओ कार्यालयमा पठाइसकिएको छ,’ महानगरका प्रवक्ता कार्कीले भने, ‘तर, उनीहरू अहिलेसम्म रकम लिन आएका छैनन् ।यही समस्याले काम अघि बढेको छैन ।’
महानगरका अनुसार तीनकुनेमा ३५ रोपनी एक आना २ पैसा ३ दाम जग्गा छ । त्यसमध्ये मुआब्जा वितरणयोग्य जग्गा ३० रोपनी हो । सरकारले सार्वजनिक सूचना निकालेर २१ रोपनी ११ आना २ पैसा १ दशमलव ९ दाम जग्गाको मुआब्जा वितरण गरिसकेको छ । बाँकी करिब आठ रोपनी जग्गाका धनीले मुआब्जा लिन मानेका छैनन् । आठ जग्गाधनीले मुआब्जा कम भएको भन्दै रकम लिन मानेका छैनन् ।
उनीहरूले सडकको बीचभागबाट २५ मिटर दायाँबायाँ पर्ने जग्गाको मुआब्जा मागेको महानगरले जनाएको छ । तर, सरकारले सडकको बीचदेखि २५ मिटर दायाँबायाँको जग्गा पहिले नै अधिग्रहण गरेकाले मुआब्जा दिने गरेको छैन । वार्तापछि गैरीगाउँदेखि कोटेश्वर सडकखण्डको २५ मिटर जग्गा छाड्न स्थानीय तयार भएका थिए ।
गैरीगाउँ–बानेश्वर र बानेश्वर–कोटेश्वर सडक क्षेत्रमा पर्ने २५ मिटरभित्रको जग्गा भने स्थानीयले छाडेका छैनन् । सडकको बीचदेखि २५ मिटरभित्र पर्ने सबै जग्गाको मुआब्जा बजार भाउअनुसार नै पाउनुपर्ने स्थानीयको माग छ । बजार भाउअनुसारकै मूल्य दिने हो भने सरकारलाई थप १५ करोड रुपैयाँभन्दा धेरै आर्थिक भार पर्नेछ । सरकारले मुआब्जा दिन १५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
त्यसमध्ये १० करोड ८० लाख १९ हजार चार सय ६१ रुपैयाँ वितरण गरिसकेको छ । क्युरेटर सप पनि राखिने डोमको दोस्रो तलामा अत्याधुनिक ‘क्युरेटर सप’ निर्माण गरिनेछ । त्यहाँ पर्यटकले सामग्री खरिद गर्न सक्नेछन् । डोमको माथिल्लो तलामा ‘मेडिटेसन’ हल निर्माण गरिनेछ । जहाँ एकपटकमा तीन सयजनाले ध्यान गर्न सक्नेछन् ।
डोमको माथिल्लो भागमा भने ५४ फिट अग्लो गौतम बुद्धको मूर्ति स्थापना गरिनेछ । मूर्तिको मुहार बानेश्वरतर्फ फर्काइनेछ । बुद्ध धर्मको तीन पक्षलाई आधार मानेर मण्डला आर्किटेक्ट डिजाइन एसोसिएसनका आर्किटेक्ट सचिन महर्जनका अनुसार हिन्दू धर्मको तीन र बुद्ध धर्मको तीन पक्षलाई आधार मानेर शान्ति मण्डला बनाउने योजना छ । संरचनाको तीन कोणमा हिन्दू धर्मका प्रतीक मानिने ब्रह्मा, विष्णु र महेश्वरको मूर्ति राखिनेछ । बुद्ध धर्ममा ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’लाई मुख्य आधार मानिन्छ ।
यसअनुसार संरचनाको मध्य मागमा रहने बुद्ध हो । बीच भागमा बन्ने डोम धर्म अर्थात् कर्तव्य र तीन कोणमा राखिने मूर्तिले संघको संकेत गर्ने योजनामा उल्लेख छ । मण्डलामा बन्ने संरचनामा दुईवटा त्रिकोण आपसमा ‘क्रस’ गराएर राख्ने र त्यसले नारी र पुरुषको पनि प्रतिनिधित्व गर्ने महर्जन बताउँछन् ।
‘तिनकुने शान्ति मण्डला’ नाम दिएर निर्माण गरिने मण्डलाको नक्सा तयार भइसकेको छ । महानगरपालिकाले आर्किटेक्ट डिजाइन एसोसिएसनको सहकार्यमा नक्सा बनाएको हो ।
एसोसिएसनका अनुसार ३५ रोपनी जग्गामा संरचना तयार हुनेछ । यस्तो बन्नेछ संरचना मण्डलाको बीचभागमा एक सय आठ मिटर लम्बाइ र ५४ फिट अग्लो ‘डोम’ निर्माण हुनेछ । डोम तीन तलाको हुनेछ । सबैभन्दा तल्लो तलामा पार्किङको व्यवस्था हुनेछ ।
त्यहाँ एकैपटकमा तीन सय कार र दुई सय ५० मोटरसाइकल पार्क गर्न सकिनेछ । पाँच वर्षभित्र बनाउने योजना काठमाडौं महानगरपालिकाले ‘तिनकुने शान्ति मण्डला’ पाँच वर्षभित्र बनाइसक्ने योजना बनाएको छ । महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले प्रस्ताव स्वीकृत भएको पाँच वर्षभित्रै अत्याधुनिक मण्डला निर्माण सम्पन्न गरिने बताए । उनले भने, ‘पाँच वर्षभित्र धुले तिनकुने संसारकै आकर्षक स्थल बन्नेछ ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि निर्माणको काम थालिने पनि तामाङले बताए । उनले भने, ‘मन्त्रालयबाट नक्सा स्वीकृत भएपछि तत्काल काम सुरु हुन्छ ।’ ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति संरचनाको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति राख्ने योजना छ ।
वरिपरि रूख–बिरुवा रोपिनेछन् । संरचनाको तीनवटै कोणमा २४ सै घन्टा पानी आउने फाउन्टेन निर्माण गरिने छ । फाउन्टेन र रंगीन तथा आकर्षक बिरुवाले सवारीसाधनबाट आएको ध्वनि सोस्ने र भित्री संरचना शान्त र सुन्दर देखिने योजनामा उल्लेख छ । – नयाँ पात्रिका दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]