१४५ मेगावाट विद्युत् सम्झौता नवीकरण अन्योलमा
काठमाडौं, १२ पुस । आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ । नवीकरणबारे छलफल गर्न तय भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक स्थगित भएपछि नेपाल विद्युत् प्राधिरकण आफैंले नवीकरणका लागि भारतलाई पत्राचार गरेको थियो । तर पत्रको जवाफ नआएपछि विद्युत् संकट टार्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं भारत जाने भएका छन् । घिसिङले नवीकरणको पहलका लागि बुधबार (आज) भारत जान लागेको बताए ।
नेपाल र भारतका सचिवस्तरीय संयुक्त स्थायी समितिको बैठक स्थगन भएपछि विद्युत् प्राधिकरणले गत मंगलबार विद्युत् आयातको म्याद पुनः तीन महिना थप गर्न एमभीभीएनलाई पत्राचार गरेको थियो । उसले सो पत्रको जवाफ नपठाएपछि सम्झौता गर्न प्राधिकरणको उच्चस्तरीय टोली दिल्ली जान लागेको हो
पूर्ववत् सम्झौताअनुरूप नवीकरण नभए पुनः लोडसेडिङ हुने निश्चित छ । त्यस्तो विकराल अवस्था आउन नदिई अवस्थालाई सामान्यीकरण गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं भारत जान लागेका हुन् ।
प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले भारतीय पक्षसँग आवश्यक छलफलका लागि प्राधिकरणका तर्फबाट एउटा टोली भारत जान लागेको बताए । नवीकरणको म्याद सकिन लागिसकेकाले एक–दुई दिनभित्रै सम्झौता नवीकरणको पहल हुने उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको उच्चस्तरीत टोलीले भारतकोे विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) का अधिकारीसँग बिजुली आयात सम्झौता नवीकरणका विषयमा छलफल गर्नेछन् ।
प्रवक्ता अधिकारीका अनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता १६ पुसदेखि सकिँदै छ । सम्झौताको म्याद नवीकरण नभए भारतबाट आयात भइरहेको १ सय ४५ मेगावाट बिजुली आपूर्ति बन्द हुनेछ ।
गत साता घिसिङले विशेष परिस्थितिका कारण नेपाल–भारत सचिवस्तरीय बैठक बस्न नसकेको भन्दै एनभीभीएनका प्रमुख कार्यकारी अधिकृतलाई तीन महिना (आगामी मार्च) सम्म विद्युत् आपूर्तिलाई निरन्तरता दिन अनुरोध गरेका थिए । प्राधिकरणले पहिलाको दरमा बिजुली आयात नवीकरण गर्न अनुरोध गरेको छ । तर भारतीय पक्षले भने महसुल वृद्धि गर्न चाहेको छ । एमभीभीएनले सस्तो दरमा बिजुली दिएको भन्दै मूल्य बढाउन प्रस्ताव गरेको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसामा आयात भइरहेको छ । कटैया–कुसाहालगायत अन्य नाकाबाट व्यापारिक मूल्यमा बिजुली आयात भइरहेको छ । बिहारको नर्दन पावर डिस्ट्रिब्युसन कम्पनी लिमिटेडबाट प्रतियुनिट ५ रुपैयाँ ५५ पैसामा बिजुली आयात भइरहेको छ । यो चुहावटबाहेकको रकम हो । यस वर्ष भारतबाट ४ सय ७० मेगावाट बिजुली ल्याएर लोडसेडिङ नगर्ने प्राधिकरणको तयारी छ ।ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन बुक भएकाले सो लाइनबाट बिजुली नल्याए पनि प्रसारण लाइन शुल्कबापत दुईवटा कम्पनीलाई वार्षिक १ अर्ब १० करोड बुझाउनुपर्छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) बैठकमा यो एजेन्डा उठाउने तयारी गरिएको भए पनि आकस्मिक रूपमा बैठक स्थगित भएको थियो । गत ६ र ७ मंसिरमा तय गरिएको बैठक प्राविधिक तयारी नपुगेको र सरकार परिवर्तनको बेला भएको भन्दै नेपालका तर्फबाट नै स्थगित गरिएको थियो । -शिव दुवाडी, राजधानी दैनिक