प्रधानमन्त्री अोलीलाई फणीन्द्र नेपालको पत्र, इतिहासले कसैलाई पनि पटक–पटक मौका दिँदैन
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।
आज म तपाईंलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अध्यक्षको हैसियतले भन्दा पनि मैले व्यक्तिगत रुपमा सन् १८१६ मार्च ४ को सुगौली सन्धि, सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र ग्रेटर नेपालका विषयमा विगत दुई दशकदेखि आवाज उठाइरहेको सन्दर्भका आधारमा सम्बोधन गर्दै छु ।
तपाईंले भोलि चैत्र २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नु हुँदैछ भन्ने कुराले मेरा मनमा एउटा जिज्ञासा र अनेक तरङ्ग उठेका छन् । तपाईं किन भारत जान हतारिनुभयो अनि चीन जाने विषयलाई तपाईंले किन प्राथमिकता दिनुभएन ? भारतसँग सम्बन्ध सुधार्न जाँदै छु भनेर तपाईंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरुद्ध गरेको नाकाबन्दीलाई आज आएर किन अनुमोदन गर्नुभयो ? २०७२ सालमा भारतले गरेको ६ महिना लामो नाकाबन्दीको बेला तपाईंलाई नेपाली जनताले दिएको समर्थन र त्यसबाट आर्जित राष्ट्रवादी व्यक्तित्वको प्रभावले नेकपा (एमाले) संसद्मा सबभन्दा ठूलो पार्टी बनेको केही समय बित्न नपाउँदै भारत जान हतारिएबाट तपाईंले नेपाली जनताको राष्ट्रवादी अडानमाथि निर्मम प्रहार गर्नुभएको अनुभूति धेरैलाई भएको छ । तपाईंले नाकाबन्दीका बेला लिएको अडानको हिमशिला तपाईंको पैतालामुनि यसरी पग्लिएको छ कि त्यसले आफ्नो आकार पूरै गुमाइसकेको छ । तर तपाईं अब भारत जानबाट आफूलाई रोक्न सक्ने स्थितिमा हुनुहुन्न । त्यसैले म आज तपाईंका कानमा दुई तीनवटा विषयका कुरा सुनाउने धृष्टता गर्दछु ।
पहिलो कुरा, नेपाल–भारत सम्बन्धको सबभन्दा ठूलो तगारो सुगौली सन्धि हो । सुगौली सन्धिलाई सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले रद्द गरिसकेको छ । उक्त सन्धिको धारा ८ को अक्षरशः पालना गर्न तपार्इंका भारतीय समकक्षीलाई जोडदार रुपमा आग्रह गर्नुहोस् । समकक्षी मोदीलाई स्पष्ट शब्दमा भन्नुहोस्, सुगौली सन्धि नेपालले बेलायतसँग गरेको थियो न कि तत्कालीन बङ्गाल वा अवधसँग । भारत वा इन्डिया वा हिन्दूस्तान त सन् १९४७ अगस्त १५ को मध्यरातमा बनेको हो । बेलायतसँग गरेको सन्धि भारतसँग कसरी लागू हुन्छ ? आफ्नो जमिन अर्काले जोतेको टुलुटुृलु हेर्ने हुतीहाराको श्रेणीमा बस्न तपार्इंलाई तपाईंको स्वाभिमानले नदिनुपर्ने हो । यो साहस गर्नुभयो भने तपार्इं अभूतपूर्व रुपमा महान् बन्नुहुनेछ ।
दोस्रो कुरा, कालापानीमा भारतीय अर्धसैनिक बल तैनाथ रहनु नेपालको स्वतन्त्रतामाथिको आक्रमण हो । त्यो नेपाली भूभाग हो । त्यसैले संयुक्त वक्तव्यमा त्यहाँबाट भारतीय अर्ध सैनिक बल तत्काल हट्ने बुँदा समावेश गर्न नभुल्नुहोस् ।
तेस्रो कुरा, आफ्ना समकक्षीसँग अब उप्रान्त नेपाल गोर्खा भर्ती बन्द गर्न चाहन्छ भन्ने हिम्मत गर्नुहोस् । हाम्रा जवान युवा भारतलाई बेचेर हाम्रो स्वाभिमान उँचो रहँदैन । भारतले गोर्खा सेनालाई नेपालको शत्रु राष्ट्र नरहेका चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश विरुद्ध प्रयोग गरिसकेको छ भने कुनै दिन नेपाल विरुद्ध पनि प्रयोग नगर्ला भन्न सकिन्न ।
इतिहासले वा समयले कसैलाई पनि पटक–पटक मौका दिँदैन । अहिले त्यो अवसर तपाईंलाई प्राप्त भएको छ । तपाईंलाई साँच्चै महान् बन्ने अवसर प्राप्त भएको छ । मौका आउँछ पर्खदैन भन्ने उखान तपाईंलाई के सम्झाउनु ? बाँकी तपाईं आफैँ जानिफकार हुनुहुन्छ । तपाईं स्वदेश फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छाले सम्मान गर्ने अवसर दिनुहुनेछ भन्ने आशाका साथ ।
तपाईंको शुभाकाङ्क्षी
फणीन्द्र नेपाल
अभियन्ता, ग्रेटर नेपाल