‘मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो’

२०७९ जेष्ठ ५ गते, बिहीबार


काठमाडौं । नेकपा (एमाले)का सांसद डा. भिम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पु-याएको बताएका छन । बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै रावलले यस्तो बताएका हुन् । डा. रावलले अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथमिकता औपचारिता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको बताए । सरकारले नेपाली जनता र देशले सामना गर्नुपरेको राष्ट्रिय आर्थिक समस्या समाधानतर्फ कुनै उल्लेखिय कुरा अगाडि नसारेको उनको आरोप छ ।
डा. रावलले वर्तमान गठबन्धन सरकारले बजेट तथा नीति तथा कार्यक्रमको प्राप्त छलफल र सुझावहरू लिन्छ भन्ने विश्वास नभएको बताए । पुँजीगत खर्च बढाउने र विकासको गतिलाई तीव्रता बढाउने खालको अर्थमन्त्रीले नीति ल्याएको खोइ भन्दै उनले प्रश्नसमेत गरेका छन ।
डा.रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाउदै प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाए । अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताए । सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्ने आशा नभएको रावलले बताए ।
प्रधानमन्त्री देउवाले चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको डा‍. रावलले आरोप लगाए । वर्तमान सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण समेत नभएको उनकाे भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]