टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित भएका छन्। सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन्। आइतबार बुढानिलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो। सो जानकारीपछि सभामुख घिमिरले उनी पक्राउ परेका संसदलाइ जानकारी गराएका हुन्। नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए। ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद सचिवालयमा आएको छ,’ उनले भनेका थिए। सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउपुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए। उनलाई हिजो मात्रै पक्राउ गरिएको हो।
यसैबीच, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई अनुसन्धानका लागि ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ । यो मुद्दामा बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नु पर्ने भएकाले बयान सुरु गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।