सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ । आज दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन । भारतमा स्वास्थ्य उपचार गराएर फर्किएपछि शीतल निवासमै आराम गरिहेका राष्ट्रपति पौडेल आफैंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रपति पौडेलको कमजोर स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने भन्ने दुविधा थियो । तर, पछिल्ला दिनमा पौडेलको स्वास्थ्यमा सुधार आएकाले उहाँ आफैले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको सम्बोधनपछि बस्ने प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।