अदालत र सरकार भारतको गुलाम !

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालका हकमा कानुन र अदालत समेत नमानेर केवल देशहित हेर्ने बताएका छन् । काठमाडौँ महानगरभित्रका फिल्म हलहरुमा भारतीय चलचित्र ‘आदिपुरुष’ कुनै पनि हालतमा चल्न नदिइने उनले बताएका छन् । उक्त चलचित्र प्रदर्शनमा मेयर बालेनले रोक लगाएपछि उच्च अदालत पाटनले आजै नरोक्न आदेश दिएको थियो । तर फिल्म र उक्त फिल्म लेखकका विवादास्पद अभिव्यक्ति नसच्याएसम्म फिल्म चल्न नदिने बालेनले बताइरहेका छन् ।
अदालतले आदेश आएकै दिन बालेनले फेसकबुकमा उक्त कुरा लेखेर अडान यथावत रहेको जनाएका हुन् । उनले के अदालत र नेपालको कानुन राष्ट्रिय सार्वभौमिकताविरुद्ध हो ? भनेर प्रश्न समेत गरेका छन् ।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ उनले भनेका छन्, ‘फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’