टिकटक बन्द

काठमाडौँ । सरकारले सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा नेपालभित्र टिकटक बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको
मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
“टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भनिन्, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको छ, सम्भवतः आजैदेखि बन्द हुन्छ ।”
पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’मा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ ।
टिकटक बन्द हुँदा नेपालको अप्टिकल फाइबर लगाएतका सूचना प्राविधि प्रशारण लाइन (आईवे) मा करिब ३० प्रतिशत लोडभार कम हुने भएको छ । नेपालको कूल खपत ब्याण्डविथ मध्ये सबैभन्दा धेरै हिस्सा अर्थात ३० प्रतिशत टिकटकको रहेको छ । टिकटक बन्द हुने भएपछि सो ब्याण्डविथ बचत हुने भएको हो । टिकटक बन्द हुँदा नेपालको इन्टरनेट प्रणालीमा राहत महसुस हुनेछ भने अन्तर्राष्ट्रिय ब्याण्डविथ बापत झण्डै तीन अर्ब रुपैयाँ बचत हुनेछ । हाल नेपालले मासिक ६० देखि ६५ लाख डलरसम्मको इन्टरनेट ब्याण्डविथ आयात गर्दै आएको छ । यस वर्ष नेपाल टेलिकमले गत वर्षको तुलनामा सस्तोमा टाटासँग इन्टरनेटको ब्याण्डविथ किनेकोले यो रकम सस्तिएको कारण यति कम भएको हो । टिकटकले नेपालको कूल ब्याण्डविथको करिब ३० प्रतिशत ब्याण्डविथ खपत गर्दै आएको नेपाल दुर सञ्चार प्राधिकरणले जनाउँदै आएको छ । अब सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै इन्टरनेटको ब्याण्डविथको खपत पनि कम हुन जानेछ । इन्टरनेटको ब्याण्डविथ खपत न्यून भएसँगै अब सो बापत मासिक करिब २५ करोड रुपैयाँ जोगिने छ । हाल मासिक ८० देखि ९० करोड रुपैयाँ इन्टरनेट ब्याण्डविथको लागि खर्च हुँदै आएको छ । अब सो रकमको करिब ३० प्रतिशतले जोगिँदा बार्षिक तीन अर्ब भन्दा बढि बचत हुनसक्ने नेपाल दुर सञ्चार प्राधिकरणले जनाएको छ ।
टिकटक बन्द हुँदा घण्टौ मोबाइलमा अल्झिने महिला तथा युवा युवतीहरु सिर्जनात्मक काममा व्यस्त हुने हुँदा यसले देशको उत्पादकत्व समेत बृद्धि हुनसक्ने अर्थविदहरुको भनाई छ । यद्यपि केही व्यक्तिहरुले टिकटकबाट बार्षिक लाखौं रुपैयाँ कमाएको र सो रकम रोकिने विषय पनि सामाजिक सञ्जालमा चर्चामा रहेको छ । टिकटकले नेपालबाट बार्षिक करोडौं रुपैयाँ विज्ञापन बापत लैजाने गरेको छ । सो समेत हिसाब गर्दा बार्षिक अर्बौ रुपैयाँ विदेश जान रोकिने छ । टिकटक नेपालको सबैभन्दा बढि हेरिने संक्षिप्त भिडियो स्टीमिङ् प्लेटफर्म हो ।