‘युवा हुन उमेर होइन, उर्जा चाहिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सविन सीले युवा हुनलाई उमेर नभएर उर्जा चाहिने बताएका छन् । शनिबार घोराहीमा सम्पन्न भएको युवा संगठन नेपाल पूर्वी दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा शुभकामना तथा प्रशिक्षणात्मक मन्तव्य राख्दै इञ्चार्ज सविनले खासमा युवा हुनलाई उर्जा र नयाँ सोच हुनुपर्ने भन्दै युवा भनेपछि आफ्नो लागि, समाजका लागि र देशका लागि केही न केही काम गर्ने अठोट हुनुपर्ने बताए । जो मान्छे र युवाहरूमा त्यो खालको सोच हुँदैन त्यो उमेरका हिसाबले युवा भन्न सकिएला तर तिनीहरूलाई उर्जाशील युवा भन्न सकिँदैन उनले भने ।
दलाल पूँजीवादलाई नबदल्ने हो भने युवाको जीवन बदलिँदैन´ उनले भने
दलाल पूँजीवादलाई बदल्नका लागि हामीले नेपालमा एकीकृत जनक्रान्ति गरिरहेका छौं । त्यो एकीकृत जनक्रान्ति भनेको दलाल विरुद्ध हो । दलाल पूँजीवाद भनेको युवालाई विदेश पलायन बनाउने, श्रमको शोषण गर्ने, देशको प्राकृतिक स्रोत साधनलाई लुट्ने, देशको सम्पत्ति दोहन गर्ने र देशलाई कंगाल बनाउने अर्थव्यवस्था हो । त्यसको विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले संघर्ष गरिरहेको छ र त्यो संघर्षको नाम एकीकृत जनक्रान्ति हो । ´
देशमा अहिले दलाल पूँजीवादीको रजाइँ छ भने अर्कोतिर वैदेशिक हस्तक्षेप भइरहेको हुँदा यसविरुद्ध एक पटक नेपालका युवाहरू लड्नुपर्ने उनले बताए । कार्यक्रममा समाजवादी मोर्चा नेपालको बारेमा जानकारी दिँदै समाजवादी व्यवस्था प्राप्तिका लागि ढिलोचाडो नेकपा एमाले पनि मोर्चा आउनुपर्ने नेता सविनको भनाइ छ ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इञ्चार्ज सम्झना सीले युवाले विदेशी भूमिमा नभएर आफ्नो मातृभूमि सपना खोज्नुपर्ने बताइन् । उनले विश्वकै एउटा नमूना, सुन्दर र असाध्यै सम्भावनाले भरिपूर्ण भएको देश नेपाल भएको उद्घोष गरिन् । नेपालमा जन्मिनु र नेपाली नागरिक बन्नुमा हामीहरू गर्व गर्नुपर्छ उनले भनिन् । दलाल पूँजीवादी र साम्राज्यवादीहरुले युवालाई जुन निराशा बाडेर विदेश जान बाध्य बनाइ रहेका छन् त्यसलाई भ्रमको रुपमा च्यात्तिनुपर्ने नेता सम्झनाको भनाइ छ ।
पार्टीका पूर्वी दाङ जिल्ला सेक्रेटरी जनकी सीले यो युवाको सम्मेलन मात्र नभएर राजनीतिक कार्यक्रम समेत भएको बताए । उनले राजनीति देशको मेरुदण्ड भएको कुरामा जोड दिँदै युवाहरू पनि राजनीति अनिवार्य रुपमा सहभागी बन्नुपर्ने उद्घोष गरे । देशमा यो संसदीय व्यवस्था फेल भएको र यसको वर्तमान समस्या हल गर्न नसक्ने भएको हुँदा अब त्यसको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउनुपर्ने सेक्रेटरी जनक सीको भनाइ छ ।
संगठनका जिल्ला सदस्य समीर सीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज अशोका सी, श्रमिक समुदाय मोर्चाका जिल्ला अध्यक्ष विष्णु सी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य खिम सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष साधना सी, अखिल समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्ज खुमन सीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, युवा संगठन नेपाल पूर्वी दाङको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार घोराहीमा सम्पन्न भएको सम्मेलनले शिशिर सीको अध्यक्षतामा दुई जना पछि थप गर्ने गरी २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा जगत सी, सचिवमा समीर सी सह- सचिवम अभिषेक सी र कोषाध्यक्षमा दीपक खड्का सी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा भूपेन्द्र सी, नविल सी, जितेन सी, उमेश सी, रमेश सी, मन प्रसाद सी, महेन्द्र सी, सुवर्ण सी, दिपक केसी सी, सन्तोष चौधरी सी, प्रतीक्षा सी, रविन घर्ती सी, दिपक पुन सी, राजेश सी चयन भएका हुन् ।
पार्टी पूर्वी दाङका ४ नम्बर एरिया इञ्चार्ज महान सी, २ नम्बर एरिया इञ्चार्ज दिनेश सी, ५ नम्बर एरिया इञ्चार्ज दानबहादुर सीलगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए । युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा रातीब्यूरो इञ्चार्ज जीवनी सीले प्यानल प्रस्ताव बाचन गरेकी थिइन् ।
संगठनका अध्यक्ष पदम सीको अध्यक्षताममा भएको कार्यक्रमको सहजीकरण संगठनका उपाध्यक्ष शिशिर सीले गरेका थिए ।- जङ्ग रेउले