युवा संगठन कैलालीले भ्रष्टाचार ,लागूऔषध र तस्करीविरुद्ध संघर्ष गर्ने

२०८१ श्रावण १९ गते, शनिबार


काठमाडौँ । युवा संगठन नेपाल कैलालीले भ्रष्टाचार ,लागूऔषध र तस्करी विरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको छैठौ पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य दर्शन सीले राष्ट्र निर्माणको मुख्य जिम्मेवारी युवाहरूको भएको बताउँदै राष्ट्रियताको रक्षा र देश विकासका लागि सम्पूर्ण युवा नेकपाको झण्डामुनि गोलबन्द हुन आवश्यक रहेको बताए। उनले पछिल्लो समय युवाहरू लागूऔषधको दुर्व्यसनीमा फसिरहेका उल्लेख गर्दै युवा संगठनलाई लागूऔषध नियन्त्रणमा लाग्न निर्देशनसमेत दिए।
यसैगरी, उक्त बैठकमा जिल्ला सचिव सरोज सीले भ्रष्टाचार नियन्त्रणमा युवाहरूको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण अभियान सञ्चालन गर्न अनुरोध गरे।
यसैगरी, युवा संगठन नेपालका प्रदेश इन्चार्ज शुशिल सीले युवा संगठन जनताको आश र भ्रष्टहरूको नाश गर्ने संगठन भएको उल्लेख गर्दै भ्रष्टाचारी विरुद्ध निर्मम संघर्षमा उत्रन आव्हान गरे। बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन सहित भ्रष्टाचार र लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष हिमाल सीले जानकारी दिए।
संगठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष हिमाल सीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य दर्शन सी प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरूमा केन्द्रीय प्रतिनिधि समिति सदस्य विनोद सी, जिल्ला सचिव सरोज सी,युवा संगठन नेपालका केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश इन्चार्ज शुशिल सी, नेकपा गोदावरी नगर इन्चार्ज कैलाश सी ,समाजवादी ट्रेड युनियनका केन्द्रीय सदस्य लोकेश सी युवा संगठन नेपालका केन्द्रीय सदस्यहरू मंगल सी, यमराज सी, रमेश सी, राधिका सी, समाजवादी ट्रेड युनियनका जिल्ला उपाध्यक्ष मिन सी लगायत रहेका थिए।

प्रतिक्रियाहरु

[anycomment]