संसद अधिवेशन बैशाख १२ गते आब्हन गर्न सिफारिस

काठमाडौँ । सरकारले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको हो । सङ्घीय संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ । सरकारको तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर गएको चैत २० गतेदेखि शिक्षकहरुले काठमाण्डौमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसद्को बैठक आह्वान गरेको जनाएको छ । सरकारले भने विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्कोबैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिन शिक्षकहरूलाई आह्वान गरेको हो । तर आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गरेर मात्रै प्रतिक्रिया दिने बताएको छ । महासंघले आज त्यसवारेमा छलफल गर्ने भएको छ । ऐन जारी गर्नुपर्ने र विगतमा भएका सम्झौता समेत कार्यान्वयन गर्नुपर्ने अडान शिक्षकले छाडेका छैनन ।