नागुवासीद्वारा चुनाव बहिष्कार गर्ने निर्णय

२०८२ फाल्गुन ३ गते, आईतवार


काठमाडौँ । दार्चुलाको नौगाड गाउँपालिकाका बासिन्दाले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । नौगाड गाउँपालिका वडा नम्बर–१ नागु क्षेत्र दल्लेख–नागु सडक निर्माणको माग सम्बोधन नभएसम्म फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने निर्णय नफेरिने बताएका हुन्।
नागुवासीलाई फकाउन माघ २४ गने नागु पुगेको सरकारी टोली समेत रित्तो फर्किएको छ । स्थानीयलाई मनाउन माघ २४ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको सरकारी टोली नागु पुगे पनि ठोस सहमति जुट्न सकेन।
टोलीले दुई दिनसम्म गाउँमै बसेर नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, पशु उपचार सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै स्थानीयसँग छलफल गरेको थियो। तर सडक निर्माणका विषयमा स्पष्ट प्रतिबद्धता नआएपछि स्थानीय आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार स्थानीयले विकास निर्माणका काम अघि बढाउने विषयमा लिखित प्रतिबद्धता माग गरेका छन्। “त्यस्तो प्रतिबद्धता प्रशासनका तर्फबाट दिन सम्भव छैन,” उनले बताएका छन्।
उनले यो कुरा आफ्नोतर्फबाट सम्भव नभएको बताए । राजनीतिक दल र तिनका उम्मेदवारसँग छलफल गरेर मात्र मतदानमा सहभागी हुने/नहुने निष्कर्षमा पुग्न सकिने स्थानीयले बताएको प्रजिअ पौडेलको भनाइ छ । विकास निर्माणका अन्य काम भने अघि बढाउन स्थानीय तह र प्रदेश-संघसँग समन्वय भइरहेको छ ।
उनका अनुसार सबै उम्मेदवारहरुसँग संयुक्त रुपमा छलफल गर्न नागुवासी तयार छन् । भौगोलिक विकटताका कारण विकास निर्माणको काम अपेक्षित हुन नसकेको उनीहरुको गुनासो छ । उनीहरु उम्मेदवार नागु आउन नसके पनि खलंगामै बोलाए पनि वार्ता बस्न तयार रहेका छन् ।
नागु विकास संघर्ष समितिका संयोजक करनसिंह डडालले दल्लेख–नागु सडक निर्माणको सुनिश्चितता नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा पुगेको बताए। “हामीलाई सेवा–सुविधाभन्दा पहिले सडक चाहिएको हो। सडक नभएसम्म मतदानमा जाँदैनौं,” उनले भने।
चुनाव बहिष्कारको घोषणा भएपछि सरकारले नागु क्षेत्रमा खाद्यान्न ढुवानी सुरु गरेको छ। तर स्थानीयवासीले खाद्यान्नभन्दा दीर्घकालीन समाधानको रूपमा सडक निर्माणको लिखित प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
नागुवासीको स्पष्ट सन्देश छ— दल्लेख–नागु सडक निर्माणबारे ठोस र लिखित प्रतिबद्धता नआएसम्म चुनावमा सहभागिता हुँदैन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु