प्रतिनिधिसभा सदस्य निर्वाचन :आज मध्यरातिदेखि माैन अवधि
काठमाडौँ । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार गर्ने साेमबार अन्तिम दिन भएकाे बताएकाे छ। आयोगले आज बेलुकी ७ बजेसम्म प्रचारप्रसारको समय तोकेको छ भने आज मध्यरातिदेखि प्रचार शुन्य समय अर्थात मौन अवधि शुरु हुने जनाएकाे छ । निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि माैन अवधि शुरु हुन्छ । साेही अवधिमा कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि शुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाे हाे।
माैन अवधि शुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । यो अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनले सामाजिक सन्जालमार्फत पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न नपाइने जानकारी दिनुभएकाे छ। अनलाइन, छापाका साथै अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष-विपक्षमा कुनै सन्देश, सूचना-प्रचारप्रसारका सामग्री पोष्ट र शेयर गर्न /गराउन नहुने आयोगले जनाएकाे हाे।
यदि राजनीतिक दल तथा उम्मेदवारहरुले सूचना-प्रचारप्रसारका सामग्री पोष्ट र शेयर गरेकाे पाइएमा कडा कारबाही गर्ने समेत आयाेगले चेतावनी समेत दिएकाे छ ।
