आजबाट घाम लाग्ने

२०७१ पुष २ गते, बुधबार

काठमाडौ । बिगत चार दिनदेखि बादल र वर्षाले चिसिएको मौसम बुधबार घमाइलो भए पनि चिसो झन् बढ्ने भएको छ। मौसमविद्हरूका अनुसार घामको कमजोर प्रकाश खुला आकाशका कारण उतै फर्किएर जाने भएकोले मौसम झन् चिसो हुनेछ। केही दिनयता बाक्लो बादल र हुस्सुका कारण पृथ्वीमा आएको ताप यतै रहँदा न्यूनतम तापक्रम बढेको थियो। काठमाडौं उपत्यकामा मंगलबार केही समय वर्षा भए पनि न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार अबका केही दिन बादल हटेर आकाश खुला हुने भएकाले चिसो थपिन्छ। ‘बुधबारदेखि घाम लाग्छ तर चिसो पनि बढ्छ’, मौसमविद् शान्ति कँडेलले भनिन्, ‘अबका केही निक्कै चिसो सहनुपर्छ।’
अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रहरूका अनुसार बुधबार घामको अधिक ताप पाँच अल्ट्राभायोलेट (इलोक्ट्रो म्याग्नेटिभ रेडिएसन-युभी) रहनेछ। त्यस्तै बिहीबार र शुक्रबार पाँच यूभीभन्दा बढी हुँदैन।
घामको ताप तीनदेखि पाँच यूभीलाई मध्यम, छदेखि आठलाई उच्च तथा आठदेखि १० लाई अति उच्च ताप मानिन्छ। रातिको न्यूनतम तापक्रम शुक्रबारसम्ममा दुई डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
बुधबार पनि केही पहाडी क्षेत्रमा भने हल्का बादलसहित वर्षाको सम्भावना छ। तराईमा भने बाक्लो हुस्सुको अनुमान छ। मौसम अनुमान गर्ने भूउपग्रह यन्त्रका अनुसार तराईमा दुई सय मिटरभन्दा टाढा नदेखिने गरी बाक्लो हुस्सु लाग्नेछ।
मंगलबार पनि देशभर वर्षा भयो। सुदूरपश्चिम र सुदूरपूर्वका पहाडी जिल्लामा भारी हिमपात भएको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।
पूर्वी नेपालमा अरब सागरबाट आएको प्रणाली तथा पश्चिम नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा भएको हो। अरब सागरको ओसिलो हावा र पश्चिमी वायुको प्रभाव कमजोर हँुदै गएकाले बुधबारदेखि मौसममा सुधारको संकेत देखिएको हो।
राजस्थानमा बनेको न्यूनचापीय क्षेत्रले तानेको अरब सागरको ओसिलो हावाको प्रभाव कायमै रहेका कारण चार दिनदेखि मौसममा गडबडी आइरहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय रूपमै बनेका प्रणालीले समेत वर्षालाई सघाइरहेको थियो।वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ। न्यूनतम तापक्रम जुम्लामा (माइनस ०.५) र डढेलधुरामा (माइनस ०.७ डिग्री सेल्सियस) मा झरेको छ। देशका अन्य स्थानमा पनि तापक्रम तल झर्ने क्रम जारी छ।
सबैभन्दा धेरै दिपायलमा २९.५ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै वीरेन्द्रनगर, धनगढी, जनकपुर, ताप्लेजुङ, ओखलढुंगा, धरान तथा विराटनगरमा वर्षा भएको थियो।
राजधानीमा मंगलबार १७.९ मिलिमिटर वर्षा भएको थियो। वर्षा पछि विस्तार हुँदै गरेका सडक हिलाम्मे थिए। विस्तार भइसकेका सडकमा ढल र पानीको निकास नहुँदा सडक पोखरीमा परिणत भएका थिए। बिहान एकछिन रोकिएको र १० बजे पुन: सुरु भएको वर्षाले सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनाएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु