खुट्टाले लेखेर ‘झमक’ जस्तै ठूलो मान्छे बन्ने सपना

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौ, १४ बैशाख । खुट्टाले लेखेर चिनिएकी रचनाकार झमक घिमिरेको जस्तै सपना रामपुर–२ बार्दाकोटका याम खाम्चाले पनि बोकेका छन्।
जन्मँदै शारीरिक रुपमा अशक्त याम अहिले १८ वर्ष पुगे। गर्भमै रहँदा कमलपित्त रोगले ग्रसित याम औषधोपचारका अभावमा सधैँभरी अर्काको सहारामा बाँच्नुपरेको छ।
बोल्न नसक्ने, दुवै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रोसँग सक्ने यामले खुट्टाले लेखेर अहिले ६ कक्षा उत्तीर्ण गरेका छन्। बालहित मावि आनन्दी भन्ज्याङमा झन्डै एक घन्टाको पैदल हिँडेर उनी विद्यालयमा पढ्न जान्छन्।
राम्रोसँग देख्न र सुन्न सक्ने याम कसैले केही सोध्यो भने खुट्टाले लेखेर उत्तर दिन्छन्। खुट्टाले लेखपढ गरेर यामले भविष्यमा झमक घिमिरे झैँ ठूलो मान्छे बन्ने सपना बोकेका छन्। उनी घरमै बसेर चित्र कोर्ने, पढ्ने र लेख्ने गरेर समय बिताउँछन्। गृहकार्य सकिएपछि उनी बढी समय चित्र कोर्न मन पराउँछन्। उनी दुई खुट्टैको सहायताले लेखपढ गर्ने तथा खाना खाने गर्छन्।
स्थानीयवासी इमानसिंह राना भन्छन्, “न हातले लेख्छन्, न त बोल्न सक्छन् तर पनि उनको खुट्टाको सहायताले गर्ने कार्य र लगनशीलता, मेहनत देख्ने जो कोही पनि दङ्ग छन्, दैनिक गृहकार्य गर्न, पढ्न र चित्र कोर्न मन पराउने यामको खुट्टामा जादु नै छ।”
बुबा मानबहादुर आफ्ना तीन छोरा र एक छोरीमध्ये माहिला यामको शारीरिक अवस्थाले निकै चिन्तित छन्। आफूले गर्न सक्ने र मिल्ने जति काम उनी अरुलाई गर्न दिँदैनन्, यो उनको सानैदेखिको बानी रहेको आमा योगमायाले बताइन्। “विवेक र बुद्धिले काम गर्छ, आफ्ना सामान, किताब, कापी, झोला, लुगा सधैँ जतन गरेर राख्ने गर्छ,” योगमायाले बताइन्।
शारीरिक रुपमा कमजोर रहेका याम आठ वर्षपछि बिस्तारै हिँडडुल गर्न थाले। उनलाई परिवारले १२ वर्षका उमेरमा गाउँकै बालज्योति प्राविमा कक्षा १ मा भर्ना गरिदिए। उनी अक्षर चिन्न र लेख्न थालेपछि नियमित रुपमा साथीहरुसँग विद्यालय जान थाले। कक्षा ५ सम्म गाउँ नजिकैको विद्यालयमा पढेका याम अहिले गाउँदेखि अलि पर रहेको बालहित माविमा कक्षा ७ मा पढ्दैछन्।
विद्यालयका प्रअ नवलसिंह वीरकट्टा भन्छन्, “याम कक्षामा उत्कृष्ट पाँच विद्यार्थीमध्येका एक विद्यार्थी हुन्, उनी कक्षाकोठामा लगनशील भएर पढ्छन् र पठनपाठनमा उनलाई विद्यालयले सहयोग गरिरहेको छ।” यामले अन्य विषयभन्दा गणितमा राम्रो अङ्क ल्याउने गरेको उनले बताए।
यामले अपाङ्गता परिचयपत्र अझै पाउन सकेका छैनन्। झन्डै तीन वर्षअघि रामपुरमा चलेको एकीकृत घुम्ती शिविरमा परिचयपत्र बनाए पनि अहिलेसम्म हात नपरेको आमाले गुनासो गरिन्। परिचयपत्रकै कारण सरकारी सुविधा पाउनबाट उनी वञ्चित छन्। शिविरमा हस्ताक्षर गरेको केही दिनमा परिचयपत्र पाउने आश्वासन पाएको खाम्चा परिवारले अहिलेसम्म छोराको परिचयपत्र पाउन सकेको छैन।
अन्य विद्यार्थीसँग बसेर उनलाई पढ्न गाह्रो भएकाले विद्यालयले छुट्टै पढ्ने व्यवस्था गर्न सके पढाइमा सघाउ पुग्ने कक्षा शिक्षक विमल वंशी बताउँछन्। फुर्सदका समयमा विद्यालयमा किताब पढ्न रुचाउने याम विद्यालय समयबाहेक अन्य समय पनि शिक्षकसँगै बसेर पढ्न मन गर्छन्। – रासस

प्रतिक्रियाहरु

[anycomment]