‘ शालिनी ‘ नाम अनुसार काम
काठमाडौ, १४ जेठ । बेङलोरकि एक छात्राले अरूको घरमा भाँडा माझेर पढ्दा पनि कक्षा १२ को जाँचमा ८५ प्रतिशत अंक ल्याएकी छन्। सत्र वर्षीया शालिनीले विज्ञान विषयमा कर्नाटक बोर्डमा उच्च माविमा उक्त अंक ल्याएकी हुन्। आर्थिक अभाव तथा अत्यावश्यक सुविधाबाट वञ्चित उनले अब इन्जिनियर बन्ने चाहना रहेको बताएकी छन्। आवश्यक शुल्क उठाउन उनले विभिन्न काम गर्ने गरेकी थिइन्। उनी अरूको घरमा भ:याङ र बार्दली पुछ्ने, कुर्सी टेबुल सफा गरिदिने काम गर्थिन्। शालिनीले भनिन्, ‘म बिहानै चार बजे उठ्छु। त्यसपछि नित्यकर्म सकेर पाँचवटा घरमा काम गर्न जान्छु। ती घरमा पानी भरिदिने, सरसफाइ गरिदिने गर्छु। ६ बजेसम्म यी सबै काम सिध्याउँछु। अनि नौ बजेको हाराहारीमा घर फर्कन्छु।’
त्यसलगत्तै उनी एउटा कार्यालयमा जान्छिन्। त्यहाँ फर्स र बाथरुम सफा गर्छिन्। उनले अगाडि थपिन्, ‘साढे सात बजे यी काम सकाउँछु र अर्को घरमा कपडा धुन जान्छु।’ घर फर्किएपछि आफ्नो काम गरेर अध्ययन गर्ने उनले खुलासा गरिन्। दिउँसो एक बजे फेरि दुईवटा घरमा भाँडा सफा गर्न जान्छिन्। दिउँसो काम पूरा गरेपछि शालिनी उच्च माविमा पढ्न जान्थिन्।
शालिनीका बाबु छन्, तर काम गर्न सक्दैनन्। उनका बाबुले मजदुरी गरेर परिवार पालेका थिए। एक दशकअघि भवन निर्माण गर्दागर्दै उनी भवनबाट खसेपछि घाइते भए। उनी अहिले हलचल गर्न पनि सक्दैनन्। ओछ्यानका ओछ्यानमै छन्। उनी मुस्किलले उठ्न सक्छन्। उनले भनिन्, ‘पिताजी अशक्त भएपछि हाम्रो केही उपाय थिएन। म दुईमा पढ्थें। आमाले अरूको घरमा काम गर्न सुरु गर्नुभयो। मेरी आमा नभएको भए भाइ र बाबुलाई हेर्ने काम मेरो हुन्थ्यो।’
शालिनीकी आमा पनि सामान्य महिला हुन्। उनी पनि अरूको घरमा काम गर्छिन्। नियति उनको लागि निर्दयी बनेको छ। १२ कक्षाको जाँच अगाडि उनका भाइलाई क्यान्सर भएको थाहा भएको थियो। यतिखेरै भाइलाई कुर्न उनलाई अस्पताल बस्नुपरेको थियो। चोटमाथि चोट थपिए पनि उनी हतोत्साही भइनन्।
बोर्डको परीक्षा अगाडि भाइ विरामी हुँदा पढाइमा अवरोध आएको उनले बताइन्। उनी भन्छिन्, ‘भाइलाई कुर्न अस्पताल बस्दा पनि किताब लिएर बस्नु मेरो बाध्यता थियो।’ अब भाइको हेरचाह आमाले गर्ने बताइन् र आफूले अरूको घरमा काम गरिरहेको बताइन्। आफूले सिइटीको तयारी गरिरहेको पनि उनले जानकारी दिइन्।
शालिनीको अध्ययन अगाडि बढाउन विभिन्न भाषाका माध्यम र शैक्षिक संस्था परिवर्तन गर्नुपरेको थियो। एक कक्षादेखि सात कक्षासम्म उनले तमिल भाषामा अध्ययन गरेकी थिइन्। आठ, नौ र दस कक्षा उनले कन्नड भाषामा पूरा गरेकी थिइन्। उच्च माध्यमिक तह भने उनले अंग्रेजी माध्यममा पढ्न सुरु गरेकी थिइन्।
उच्च मावि उनले एसजिपिटिए-दीक्षा कलेजबाट पूरा गरेकी हुन्। शालिनी भन्छिन्, ‘भाषाको माध्यम परिवर्तन गरेर पढ्नुभन्दा मेरा लागि आर्थिक अभाव ठूलो समस्या थियो।’उनले धेरै अंक ल्याउनुभन्दा भाइको जीवन आफ्ना लागि महत्त्वपूर्ण भएको बताइन्।
उनले आफ्नो सफलताका लागि गुरुहरूको ठूलो सहयोग रहेको बताइन्। उनको कलेजका प्राचार्य प्रताप नायडूले भने, ‘शालिनी परिश्रमी र सिक्न चाहने विद्यार्थी हुन्। पारिवारिक कठिनाइ भए पनि मेहनतले गर्दा सफलता पाउन सकिन्।’ -एजेन्सी