दसैंको टीकाको उत्तम साइत ८:४५ मा
काठमाडौं, ८ असोज । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ असोज) को बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ । समितिले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजया दशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए । विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा. गौतमले जानकारी दिए ।
‘देवी विसर्जनपछि जुनसुकै बेला पनि सर्वसाधारणले टीका–प्रसाद ग्रहण गर्न शुभ हुन्छ,’ उनले भने, ‘यो साइत मुख्यतया राज्यका लागि हो, राज्य सञ्चालन गर्नेका लागि हो ।’
यसपालिको दसैं १५ असोज शनिबारका दिन (घटस्थापना)बाट सुरु भएर २९ असोज कोजाग्रत पूर्णिमाका दिन सकिनेछ । पछिल्ला वर्षहरूमा जस्तो घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको तिथि यसपालि टुटेको छैन । सरासर १० दिन नै तिथि भए पनि चतुर्दशी र पूर्णिमा एकै दिन परेकाले १४ दिनको दसैं छ ।
समितिका अध्यक्ष प्रा.डा. गौतमका अनुसार घटस्थापनाको साइत १५ असोज शनिबार बिहान ८ बजेर ३५ मिनेटमा रहेको छ । सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत १६ असोज आइतबार बिहान ८ बजेर ३७ मिनेटमा शुभ रहेको समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार यो वर्ष पूर्व फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ ।
२० असोज बिहीबार पचली भैरवको जात्रा परेको छ । २२ असोज शनिबार फूलपातीका दिन बिहान ७ बजेर २९ मिनेटमा तलेजु भवानीको यात्राको साइत निक्लिएको छ । भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ३५ मिनेटमा रहेको छ । फूलपाती भिœयाउन भने कुनै साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ । फूलपाती गोरखाबाट ल्याएपछि मात्र बित्र्याउने गरिन्छ । २३ असोज आइतबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिका अध्यक्ष प्रा. डा. गौतमले बताए । २४ असोजमा नवमी परेको छ ।
विजयादशमीका दिन गरिने तलेजु भवानीको यात्राका लागि २५ असोज बिहान ११ बजेर २७ मिनेटको साइत र स्थिरासनका लागि बिहान ११ बजेर ५१ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग जात्रा पनि यही दिन मनाइन्छ । दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई २९ असोज शनिबारबाट समाप्त गर्नुपर्नेछ । बिहान र दिउँसो चतुर्दशी तिथि भए पनि बेलुका पूर्णिमा भएकाले यसै दिन कोजाग्रत पूर्णिमा परेको छ ।