‘भिटौला’ पर्व सुरु

२०८१ चैत्र २ गते, शनिबार


काठमाडौँ । सुदूरपश्चिममा भिटौला पर्व सुरु भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ । आजदेखि चेलीबेटीलाई भेट्ने दिन सुरु हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।
परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरी–बहिनीको घरमा पुर्‍याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको छ ।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ ।
पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ । चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभर एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु