यःमरी पूर्णिमा , धान्यपूर्णिमा र उधौली मनाइँदै
काठमाडौँ । आज खस आर्यले धान्य पूर्णिमा, नेवार समुदायले यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले उधौली मनाउदैछन्।
नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।
नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।
यसैगरी, सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। यो दिन धानको भकारीमा पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।
नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ।
कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ।
नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ।
यसैगरी, लिम्बू जातिमा बाली भित्र्याएपछिको ‘न्वागी’ खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो।
यस्तै लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्। गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आँगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्ने गर्छन्। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउने र नेमानमा पूजा गर्ने गर्छन्।
यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।
