एसीसी महिला क्रिकेट : नेपाल पाकिस्तानको सामना गर्दै

२०८१ श्रावण ६ गते, आईतवार


काठमाडौँ । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलंकाको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा रहेको छ ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो ।
आजै हुने समूह ‘ए’ को अर्को खेलमा युएईले भारतको सामना गर्दै छ । भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने युएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आज दिउँसो सवा २ बजे शुरु हुनेछ । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

प्रतिक्रियाहरु

[anycomment]