ठमेललाई चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटकीय क्षेत्र ठमेललाई चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको बताएका छन । उनले आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल चौबिसै घण्टा खुला गर्ने र ‘फ्री भेइकल जोन’ बनाउने गरी तयारी भइरहेको जानकारी दिए । उनले शान्ति सुरक्षा, पार्किङ व्यवस्थापन, चौबिसै घण्टा खुला गर्दा कुनै पनि व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भनेर व्यावसायिक आचारसंहिता बनाइरहेको उल्लेख गर्दै भने- “शान्ति सुरक्षा व्यवस्थापन कसरी गर्ने ? पार्किङ व्यवस्थापन कसरी गर्ने रु चौबिसै घण्टा सञ्चालन गर्दा व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्ने भनेर हामीले व्यावसायिक आचारसंहिता बनाइरहेका छौँ। काठमाडौं महानगर, दरबार वृत्त, सोह्रखुट्टे वृत्त, ट्राफिक महाशाखा, ठमेल पर्यटन विकास परिषद्, ठमेलसँग जोडिएका चारवटै वडाका जनप्रतिनिधिसहितको एउटा समिति गठन गरेर आचारसंहिता बनाइरहेका छौं ।”
अध्यक्ष शर्माले आचारसंहिता पारितपछि ठमेल चौबिसै घण्टा खुलाइने उनले जानकारी दिदै भने- यस्तै, बेलुका ७ देखि बिहान ५ बजेसम्म ठमेल क्षेत्र ‘फ्री भेइकल जोन’ बनाइनेछ । त्यसका लागि अहिले सीसी क्यामेरा, सडकबत्ती जडान, स्ट्रिट नम्बर राख्ने काम भइरहेको छ,” उनले भने, “यी सबै काम पूरा भएपछि ठमेल चौबिसै घण्टा खुलाउछौँ ।”
उनले ठमेलमा अहिले ११२ वटा सीसी क्यामेरा जडान गरिएको छ । त्यसले ठमेलमा हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भने- “अहिले ११२ वटा क्यामेरा जडान गरेका छौँ । त्यो एकदमै हाई टेक्नालोजी हो । त्यसले पूरै ठमेललाई कभर हुन्छ । ठमेलमा हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण लिन सहयोग पुग्छ । ”