अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ । विश्रुव सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गरिएको हो। महोत्सव भोलिसम्म चल्ने छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न ध्यान, म्याराथन दौड र विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिएको हो। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रुपमा शान्ति महोत्सव आयोजना गरेका हुन्। महोत्सव उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन्। महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुने आयोजकहरुले बताएका छन्।गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि पवित्र तीर्थस्थल र प्रमुख पर्यटकीय गन्तव्य हो। मेलाको प्रारम्भसँगै शुक्रबार बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा दुई घण्टा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन गरिएको छ। महोत्सवले भगवान बुद्धको जन्मस्थलमा शान्तिको सन्देश फैलाउने र लुम्बिनीलाई विश्व पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धनमा सहयोग पुग्ने चिनियाँ दूतावासले जनाएको छ ।