गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
काठमाडौँ । गैडाको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको मृत्यु भएको छ । शनिबार बिहान ११ : ५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १:३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मी सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।
रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । रेग्मीसँगै निकुञ्ज घुम्न गएका पर्यटक भने सकुशल छन् । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।
‘निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ’, तिवारीले भने, ‘नयाँ वर्षको दिन दुःखद् घटना भयो ।’ मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।