जनवरीमा ८० हजार पर्यटक भित्रिए

२०८१ माघ २१ गते, सोमबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए । यस वर्ष जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटक आए । यो अघिल्लो वर्ष जनवरीको दाँजोमा १५ प्रतिशतले कम हो । अघिल्लो वर्ष जनवरीमा २४ हजार १ सय ३९ भारतीय नेपाल भ्रमणमा आएका थिए ।
यसैगरी, जनवरीमा बंगलादेशबाट ५ हजार ४ सय ६ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको तुलनामा यो ४९ प्रतिशत धेरै हो ।
२०२४ जनवरीमा बंगलादेशबाट ३ हजार ६ सय २९ पर्यटक नेपाल आए । एसियाली देशमध्ये भियतनाम, इन्डोनेसिया सहितबाट पर्यटक बढ्दा थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया लगायतबाट घटेका छन् ।
चीनबाट जनवरीमा ८ हजार १ सय ९१ पर्यटक आएका छन् । यो २०२४ जनवरीको तुलनामा १२.७ प्रतिशतको सुधार हो । गत वर्ष ७ हजार २ सय ६७ चिनियाँ पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ ।
यद्यपि, चिनियाँको आगमन कोभिड–१९ अगाडिको तुलनामा भने अझै पुगेको छैन । २०१९ जनवरीमा समग्र पर्यटक आगमन ८१ हजार २ सय ७३ रहँदा चिनियाँ १२ हजार ९ सय १६ आएका थिए । त्यो वर्ष भारतीय भने १७ हजार ६ सय ९० मात्र आएका थिए ।
यसैगरी, बंगलादेशी पर्यटक आगमन बढे पनि श्रीलंकाली पर्यटक आगमन भने केही कम भएको छ । श्रीलंकाबाट ४ सय ७ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
पाकिस्तानी पर्यटक आगमन सुधार हुँदा भुटानबाट आउने पर्यटक समेत बढेका छन् । एसियाली देशमध्ये भियतनाम, इन्डोनेसिया सहितबाट पर्यटक बढ्दा थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया लगायतबाट घटेका छन् । एसियाली भेगको आगमन समग्रमा घटेको छ ।
यसैगरी, जनवरीमा बेलायतबाट ३ हजार ५ सय २१ पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशत धेरै हो । २०२४ जनवरीमा ३ हजार २ सय ७६ पर्यटक बेलायतबाट आएका थिए । जर्मनीबाट १ हजार ३ सय २१, फ्रान्स १ हजार १०, रुस ६ सय १६ पर्यटक आएको देखिन्छ । यी सबै देशबाट आगमनमा सुधार भएको छ ।
यसैगरी, जनवरीमा अस्ट्रेलियाबाट ४ हजार ३ सय १ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष ३ हजार ४ सय २१ पर्यटक त्यहाँबाट आएका थिए । भने अमेरिकाबाट एक महिनामा ८ हजार ६३ जना नेपाल आएका छन् । अघिल्लो वर्ष ७ हजार ४७ आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु