विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका-५ स्थित विचित्र गुफा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा छ। २०४५ सालमा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए। पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्थे। पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन्।
हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए। धेरै विदेशी नागरिक अरविन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए।
गुफा १८५ मिटर लम्बाई र ३५० मिटर चौडाइमा फैलिएको छ। स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा बाँदर एकाएक पहरा ९चट्टान०को बिचमा रहेको सानो प्वालबाट भित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लगाउनुभएको स्थानीय युवराज भण्डारीले बताए।
गुफाको मुख्य प्रवेशद्वारबाट भित्र भित्तामा देखिने विभिन्न आकृतिले जो केहीको पनि ध्यान केन्द्रित गर्ने गरेको छ। गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो। ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ। स्वर्ग जाने बाटोमा धर्मात्मा मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ। स्वर्गजाने बाटो एकदमै साँघुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो। त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँढ स्पष्ट देख्न सकिन्छ। गुफा क्षेत्रको विकासका लागि हालसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोड बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए। सदरमुकाम तम्घासबाट १८ किलोमिटरको दुरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग दुवै रहेको छ। -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ढङ्ढङे झरना ओझेलमा

२०८२ असार २३ गते, सोमबार