युक्रेनद्वारा विदेशमा रहेका नागरिकलाई घर नफर्किन आग्रह

२०७९ कार्तिक ९ गते, बुधबार

काठमाडाैं । युक्रेनले युद्धका कारण देश छाडेर गएका आफ्ना नागरिकलाई घर फकर्ने हतार नगर्न आग्रह गरेको छ । रुसले पछिल्लो समय उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण देशभर चरम उर्जा संकट बढेकाले कम्तिमा यो जाडोभरी देश नफर्कन आग्रह गरिएको हो । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेसचुकले टेलिभिजन सम्बोधन मार्फत विदेशमा जहाँ जहाँ बसिरहेको हो, त्यही स्थानमा सुरक्षित रुपमा रहन र घर फर्कने हतारो नगर्न आग्रह गरेका हुन् ।
रुसी आक्रमणबाट ४० प्रतिशत उर्जा केन्द्रहरु ध्वस्त भएकाले आधा भन्दा बढी भूभाग अन्धकारमा रहेको किएभले जनाएको छ । लगातारको युद्धले युक्रेनमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्रीको पनि चरम संकट रहेको छ । युक्रेनी सरकारले स्वदेश फर्किदा उनीहरु स्वयं र परिवार झन खतरामा पर्ने भन्दै आउने बसन्त ऋतुसम्म विदेशमै रहन भनको हो । रुसी आक्रमण शुरु भएपछि देश छाडेर गएका दशौं लाख युक्रेनीहरु युरोपका विभिन्न देशमा शरण लिईरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]