आणविक युद्धको खतरा बढ्दैछ !

२०७९ मंसिर २२ गते, बिहीबार


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् । यद्यपि, उनले आणविक हतियार प्रयोग गर्नका लागि पहल गरेर पागलपन नगर्ने बताए । पुटिनका अनुसार उनको देशले परमाणु हतियार आक्रमणको जवाफ दिनका लागि मात्र प्रयोग गर्नेछ । रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा उनले युक्रेनमा युद्ध लामो समयसम्म चल्न सक्ने पनि जानकारी गराएका छन् । सोही समयमा, पश्चिमी देशहरू विश्वास गर्छन् कि पुटिनको प्रारम्भिक योजना जतिसक्दो चाँडो युद्ध जित्नेतर्फ थियो ।
यस वर्षको फेब्रुअरी महिनामा युक्रेनमा भएको हमलापछि रुसले आणविक हतियारको प्रयोग गर्ने आशंका बलियो हुन थालेको छ । पुटिनले आणविक युद्धको सम्भावनाको बारेमा भने, ‘यसको खतरा साँच्चै बढिरहेको छ, यसलाई लुकाउनु गलत हुनेछ ।’
उनले कुनै पनि हालतमा रसियाले आणविक हतियार प्रयोग गर्न पहल नगर्ने र आणविक हतियारको भण्डारबाट कसैलाई पनि धम्की नदिने बताएका छन् । पुटिनले भने, ‘हामी पागल होइनौं, हामीलाई थाहा छ आणविक हतियार के हो ।’
रुससँग विश्वकै सबैभन्दा आधुनिक आणविक हतियार रहेको दाबी पनि पुटिनको छ । अमेरिकालाई निशाना बनाउँदै उनले भने, ‘हामीले आफ्नो आणविक हतियार अरु कुनै देशमा तैनाथ गरेका छैनौं तर अमेरिकाले टर्की र युरोपका धेरै देशमा तैनाथ गरेको छ ।’
गत महिना युक्रेनको खेरसन सहरबाट रुसी सेना फिर्ता भएको थियो । फेब्रुअरीमा भएको आक्रमणपछि रुसी नियन्त्रणमा आएको यो एकमात्र प्रमुख सहर थियो । यो हप्ता रुसले फेरि युक्रेनको पावर ग्रिडलाई लक्षित गरी मिसाइल आक्रमण सुरु गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]