नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीद्वारा राजनीतिक भेटलाई तिब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देशमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले गत कार्तिक १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री निवास बालुटारमा भएको उक्त भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा देशको समग्र राजनीतिक स्थिति र जटिल अवस्थाबारे गम्भीर छलफल हुनुका साथै तत्कालिन ओली नेतृत्वको सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयनका बिषयमा छलफल भएको बताइएको छ ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले सरकार देशको समग्र राजनीतिक स्थिति र नेकपासंग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न सकारात्मक भएको बताएका थिए।
स्मरणीय छ , तत्कालिन ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो भने २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको सार्वजनिक गरिएको थियो । उक्त सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्ने , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्ने र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन ,कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सपूर्ण मुद्दाहरु खारेज गर्ने सहमत भएको थियो ।
उक्त सहमतिको नेकपाले अक्षरश: पालना गरेपनि सरकारले पालना गरेका छैन। जसका कारण अहिले पनि नेकपाका दर्जनभन्दा बढी नेता – कार्यकर्ता जेलमा छन् भने दर्जनौले झुठा मुद्दा खेपिरहेका छन्।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच गत कार्तिक १६ गते देउवा निवासमा भेटवार्ता भएको हो । उक्त भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयनका विषयलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ ।

यसैगरी, उक्त भेटवार्तामा नेकपा र सरकारबीच भएको ३ बुंदे सहमतिमा देशको राजनीतिक समस्याहरु वार्ता र सम्बादवाट समाधान गर्ने सहमति भएकोले त्यसलाई दुवै पक्षले समान्दारीतापुर्वक लागू गर्नु पर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डबीच हालै प्रचण्ड निवास खुमल्टरमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा पछिल्लो समय फेरिएको सत्ता गठबन्धन र त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा परेको प्रभावको बिषयमा छलफल भएको बताइएको छ । छलफलमा पछिल्लो सत्ता गठबन्धनले देशको स्वाधिनता , क्रान्ति र परिवर्तन चाहने राजनीतिक दल , नेता र आमजनतामा परेको असर लगायतका बिषयमा छलफल भएको बताइएको छ।

यसैगरी, उक्त भेटवार्तामा छिट्टै समाजवादी मोर्चालाई अगाडि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ।
स्मरणीय छ, २०८० असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने २०८० फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।